नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा १ सय २१ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार र शुक्रवार सञ्चालन भएको शल्यक्रिया शिविरमा उनीहरूको शल्यक्रिया गरिएको हो ।
शिविर नमोबुद्ध नगरपालिका, लायन्स क्लब अव काठमाडौँ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरीले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् । शिविरको सहआयोजक को रूपमा काभ्रेपलान्चोक चेम्बर अफ कमर्स रहेको थियो ।
शल्यक्रिया शिविरअगाडि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । ती शिविरमा मोतिया विन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । अस्पतालले भकुण्डेबेशी सेवा केन्द्रमा पहिलो पटक यति धेरै बिरामीको एकै पटक मोतिया विन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार पहिलो दिन ५२ जना र दोस्रो दिन ६९ जनाको शल्यक्रिया गरिएको छ ।
नगरका विभिन्न स्थानमा आयोजना गरिएको शिविरमा १२७० जनाको परीक्षण र उपचार गरिएकोमा बाट १ सय ७४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । दुई दिनसम्मको शिविरमा शल्यक्रिया गर्न नगएका बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा पुगेर निःशुल्क शल्यक्रिया गराउन सक्नेछन् । शल्यक्रियाका लागि गाउँ गाउँबाट आएका बिरामीहरूले अस्पताल र आयोजकहरूप्रति आभार प्रकट गरेका थिए । शल्यक्रिया शिविरको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरमा मोतिया विन्दु न्यूनीकरण अभियान सञ्चालन गरिरहेको छ । नगरपालिका र रेयुकाई मासुनागा आँखा अस्पतालको सहकार्यमा सञ्चालित अभियानबाट नगरका सयौँ मोतिया विन्दुका बिरामी लाभान्वित भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















