तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ७ को टोल–टोलमा मोटर बाटो पुर्‍याएपछि वडाको आयोजनामा निःशुल्क ड्राइभिङ तालिम दिन सुरु गरेको छ । शुक्रवारबाट सुरु भएको उक्त तालिमको गाउँपालिकाका प्रवक्ता एवं सो वडाका वडा अध्यक्ष ज्ञानबहादुर तामाङले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रवक्ता तामाङले आफ्नो कार्यकालमा वडाको सबै टोल–टोलमा मोटर बाटो पुर्‍याएको बताउँदै दक्ष चालक उत्पादनको लागि तालिमको आयोजना गरेको बताए । उनले तालिमबाट सिप सिकेर आत्मनिर्भर हुन मद्दत पुग्ने समेत विश्वास गरे ।
‘सबैभन्दा पहिला तालिममा सहभागी सबैलाई सफलताको शुभकामना दिन यो तालिमबाट सिप सिकेर आत्मनिर्भर हुन मद्दत पुग्ने अपेक्षा हामीले गरेका छौँ ।’ अध्यक्ष एवं प्रवक्ता तामाङले भने, ‘मेरो कार्यकालमा सबै टोलमा मोटर बाटो पुर्‍याउन सफल भएको छु । ती बाटोहरूमा सवारी चलाउने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक देखिएकोले यो कार्यक्रम आयोजना गरेका हौँ ।’
तामाङले आफ्नो ठाउँमा सवारी चलाई दैनिकी टर्ने देखि वैदेशिक रोजगारीमा जान पनि यो तालिमले सजिलो हुनेमा विश्वास व्यक्त गरे ।
तालिम एक महिनासम्म चल्ने आयोजकले बताइएको छ । तालिममा वडाका ७ जना महिला र ३५ जना पुरुष गरी ४२ जना सहभागी छन् । वडा नं ७ को चापाखोरी चौरमा सञ्चालित तालिममा भक्तपुर मोटर ड्राइभिङ सेन्टरको २ जना प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् ।
उद्घाटन कार्यक्रममा वडा सदस्य फुलमाया दर्जी, वडा सचिव अनिता श्रेष्ठ, वडा नं ९ को वडा सचिव एवं कृषि प्राविधिक पवन ओली, समाजसेवी इन्द्र लाल तामाङको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।