चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको भूमेस्थान माविको हीरक जयन्ती (६० औँ वार्षिकोत्सव) सम्पन्न भएको छ । आज शनिवार बागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले राज्यसत्ताको पुनर्संरचना गरे पनि शिक्षा क्षेत्रको पुनर्संरचना गर्न नसकेको बताउँदै सामुदायिक विद्यालयहरूको थुप्रै समस्याहरू रहेको गुनासो गरे । ‘राज्यसत्ताको पुनर्संरचना त हामीले गर्यौँ, तर शिक्षा क्षेत्रको पुनर्संरचना गर्न सकेका छैनौँ ।’ उनले भने, ‘सामुदायिक विद्यालयहरूको थुप्रै समस्याहरू छन् । आज सामुदायिक विद्यालयहरूको कसरी स्तरोन्नति गर्ने, भोलिको युगसँग, संसार भरिका विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न आवश्यक छ ।’

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका विशेष अतिथि दिननाथ गौतमले मानव विकासको खुड्किलोको रूपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए । ‘विद्यालय मानव जीवनसँग जोडिएको चेतनाको प्रवाह संस्था हो । विद्यालय शिक्षा मार्फत मानव चेतना अहिले जुन ठाउँमा पुगेको छ, त्यो शिक्षाको माध्यमबाट भएको छ ।’ उनले भने, ‘मानव विकासको खुड्किलोका रूपमा शिक्षालाई लिइन्छ । त्यसैले गुणस्तरीय शिक्षा आजको आवश्यकता हो ।’

कार्यक्रममा विद्यालय स्थापना कालदेखि महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेका थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाईं, वडा अध्यक्ष धन लामा, विद्यालयका पूर्व प्रधानाध्यापक कामेश्वर मण्डल, गणेश प्रसाद पन्त, नेपाली काँग्रेसका प्रतिनिधि भिमप्रसाद पन्त, माओवादी केन्द्रका प्रतिनिधि ज्ञानमान लामा, अनेरास्ववियु का केन्द्रीय सदस्य समीर पाण्डे, पत्रकार देवीप्रसाद पन्त प्रधानाध्यापक चन्द्रमान लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी भीम प्रसाद पन्तले विद्यालयलाई रु. २५ हजार रकम सहयोग गरेका थिए भने सोही विद्यालयको अर्का पूर्व विद्यार्थी डा. राजकुमार पन्तले विद्यालयको लागि आवश्यक मेडिकल सम्बन्धी सामाग्रीहरू सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर तामाङको अध्यक्षतामा भएको थियो भने सञ्चालन शिक्षक युवराज पोखरेलले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















