चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका सहकारीहरूलाई सहकारी अवधारणा, विकास तथा प्रवर्द्धन तालिम दिएको छ । गाउँपालिका स्तरीय सहकारी समन्वय समितिको आयोजना तथा चौंरीदेउराली गाउँपालिकाको सहयोगमा शनिवार सो तालिमको दिइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाँईले पालिका भित्र रहेका ६३ भन्दा बढी सहकारीहरूको प्रवर्द्धन गर्नका लागि आफू निर्वाचित भएर आए देखि नै निरन्तर यस क्षेत्रमा आवश्यक कार्यहरू गर्दै आइरहेको बताइन् । साथै उपाध्यक्ष चौंलागाईंले आगामी दिनहरूमा पनि यस्तै खालका सहयोग गर्दै जाने र पालिकाले स्थानीय किसानहरूका लागि रासायनिक मल व्यवस्थापन गर्दै किसानहरूका लागि मल ढुवानीमा १० लाख भन्दा बढी रकम विनियोजन गर्दै काम गर्दै अगाडि बढ्दै आइरहेको जानकारी समेत जानकारी दिइन् ।
उनले पालिका स्तरमा निष्क्रिय रहेका सहकारीहरूलाई अव सहकारीको अवस्था विश्लेषण गर्दै सक्रियतामा ल्याउन अभियान सुरु गर्ने र क्षमता विकास सहित सुशासन गर्दै थोरै र बलियो सहकारी बनाउन सहकारी ऐन अनुसार नै कार्यहरू गर्ने बिचार व्यक्त गरे ।
उक्त तालिममा केन्द्रीय बीउ तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घ लि का अध्यक्ष विनोद पराजुली, जिल्ला सहकारी सङ्घ लि.का अध्यक्ष दिलीप शर्माको उपस्थिति रहेको थियो । पालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक चित्रप्रसाद चौंलागाँईको सभापतित्वमा भएको कार्यक्रममा ५० जना भन्दा बढी विभिन्न सहकारी संस्थाहरूका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
एक दिवसीय कार्यक्रममा सहकारीको इतिहास, परिचय, सञ्चालन, व्यवस्थापन, कानुनी विषय, सञ्चालक समितिको भूमिका, कर्मचारीको भूमिका, एकीकरण अभियान, सहकारी संस्थाहरूको समस्या, समाधानका उपायहरूका बारेमा अन्तरक्रिया सहित यसको विकास र प्रवर्द्धनका बारेमा सङ्घका अध्यक्ष शर्मा र पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय बीउ तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घ लि. का अध्यक्ष पराजुलीले सहजीकरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।