धुलिखेल । ‘आचरण व्यवहारमा परिवर्तनका लागि थुनुवाको हात हातमा किताब’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय, काभ्रेको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । आइतबार बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त कुमार लामाले एक कार्यक्रमका बिच उक्त पुस्तकालयको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीले थुनुवालाई कानुनी कार्यवाहीका बरेमा जानकारी गराउन पुस्तकालय स्थापना गरिएको बताए । ‘अधिकांश थुनुवालाई आफूले गरेका गलत कार्यबारेका कानुनी कार्यवाहीबारे जानकारी हुँदैन । जसका लागि उनीहरू विभिन्न ठाउँमा धाउनुपर्छ ।’ एसपी खत्रीले भने, ‘त्यसैले उनीहरूलाई कानुनी कार्यवाहीका बारेमा जानकारी गराउनका लागि पनि यहाँ पुस्तकालय स्थापना गरिएको हो ।’
फुर्सदको समयलाई सदुपयोग गरेर आफ्नो रुचि अनुसारको विभिन्न विषय जस्तै इतिहास, भूगोल, राजनीति लगायतका पुस्तक पढेर उनीहरूले जानकारी राख्न सक्ने खत्रीले बताए ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुखको मार्ग निर्देशन अनुसार नै हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको खत्रीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।