धुलिखेल । ‘आफ्नो मुखमाथि गर्व गर्नुस’ भन्ने मुल नाराका साथ विश्व मुख स्वास्थ्य दिवस विश्वभर मुख स्वास्थ्यको जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै बिश्वभर मनाइएको छ ।
यसै अवसरमा काठमाण्डौँ विश्वविद्यालय, धुलिखेल अस्पताल दन्त विभागद्धारा सो दिवसको अवसरमा विभिन्न स्थानहरुमा जनचेलनामुलक कार्यक्रम, दन्त परिक्षण र प्रारम्भिक उपचार गर्ने कार्यहरु सञ्चालन गरिएको थियो ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा एक दिवसिय जनचेतनामुलक कार्यक्रम र दन्त शिविर यस जिल्लाका तथा आसपासका वरपरका ५ स्थानहरु पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल, सन्जिवनी मा.वि. धुलिखेल, कोपिला अनाथाश्रम, हरिसिद्धि ललितपुर, परिवर्तनशिल महिला समूह गीता मन्दिर प्राङ्खण तथा साहारा अनाथाश्राम धुलिखेलमा सञ्चालन गरिएको थियो । यी शिविरबाट ९ सय भन्दा वढिले प्रत्यक्ष लाभ उठाएका थिए ।
“गरिव तथा असहायका लागि गुणस्तरिय सेवा” र “सबैको लागि गुणस्तरिय स्वास्थ्य सेवा” नाराका साथ सुरु गरिएको यस धुलिखेल अस्पतालको कार्यलाई निरन्तरता दिनका निम्ति उक्त दिन निःशुल्क दन्त सेवा, विशेषगरी मुख स्वास्थ्यको रोगहरुबारे चेतना तथा यसका रोकथाम गर्ने उपाए बारे परामर्श गर्ने र निःशुल्क ब्रस, मञ्जन, साबुन, किताब र औषधीहरु वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















