धुलिखेल । नेकपा एमालेका नेता तथा बागमती प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईँले एमाले समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओली र उनको भजन मण्डली लागेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जालमार्फत सांसद हुमागाईँले त्यस्तो आरोप लगाएका हुन् ।
एमाले समाप्त पार्न ओलीले गरेका गतिविधिको समेत हुमागाईँले सूची नै तयार पारेका छन् । सत्य एकातिर रहेको र एमाले समाप्त पार्न सत्यलाई समेत लत्त्याएको उनको आरोप छ ।
सामाजिक सञ्जालमा हुमागाईँले यस्तो लेखेका छन् :
‘सत्य एकातिर छ, महाधिवेशनले बनाएका पदाधिकारीको बर्खास्त गरिन्छ, जनताको बहुदलीय जनवादको समाप्त गरिन्छ, नेकपा (एमाले) को ९ अैाँ महाधिवेशनले पारित गरेको विधान च्यातिन्छ, एमालेको विधान अनुसार बनाएका कमिटी विघटन गरिन्छ, फरक मत राख्नेलाई बैठकमा नबोलाई बैठक भयो खबर पाउनु भएन भनेर अपमानित गरिन्छ, आफैले एमाले र माओवादी केन्द्र बिच गरेको सम्झौता अदालतले बदर गर्दा दीपावली गर्न लगाइछ, पार्टीको निर्णय आफू अनुकूल नआउने भएपछि सडक बैठक भनिन्छ, टोप बहादुर रायमाझी जस्तालाई लगाएर माधव नेपाललाई एमालेमा स्वागत छ भन्न लगाइन्छ, आफूले विघटन गरेको संसद् अदालतले ब्युँताइ दिएको कुनै हीनताबोध हुँदैन, एमालेलाई विश्वास गर्ने आम कार्यकर्ताको मन दुखाउने काम गरिन्छ, आफैले विघटन गरेको एमाले अदालतले ब्युँताइ दिएको एमाले हो भन्ने कुरा जनतालाई किन ढाँटेर आफू पक्ष मात्र एमाले हो भनेको, फरक बिचार राख्नेलाई स्पष्टीकरण सोध्न लगाइछ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको विषय एमाले भएपछि स्पष्टीकरण सोधिन्छ, यी सबै विषयकले के प्रस्ट हुन्छ भने नेकपा एमाले समाप्त गर्न केपी ओली कमरेड र उहाँका भजन मण्डली लाग्नु भएको छ भन्ने कुरामा प्रस्ट हुँदैन र ?’

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।