भकुण्डेबेसी । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ र ३ को बन्द रहेको इँटा उद्योग व्यवसायीहरूले पुनः सञ्चालन गर्न थालेपछि नमोबुद्ध नगरपालिकाले सञ्चालन नगर्न आव्हान गरेको छ । बिहीबार नगरपालिका हलमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख टिपी शर्माले उक्त आव्हान गरेका हुन् ।
पत्रकार सम्मेलनमा नगर प्रमुख शर्माले विभिन्न अदालतमा विचाराधीन मुद्दा किनारा नहुँदासम्म यस्तो कार्य रोक्न अनुरोध गरेका छन् । ‘विभिन्न अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नहुँदासम्म वातावरण प्रदूषण हुने कार्य नगर्न नगराउन सम्बन्धित सबैमा नमोबुद्ध नगरपालिका हार्दिक अनुरोध गर्दछ ।’ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 

हाल सञ्चालनमा ल्याएको सत्य नारायण ब्रीक इन्टस्ट्रीज प्रालिको इटा उद्योग
भिडियो हेर्नुहोस्:
प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो छः
२०७४ साल वैशाख ३१ गते आम निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधिहरुले मिति २०७४ जेठ १० मा नगरपालिकामा पद बहाली गर्दा नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुले व्यक्त गरेका प्रतिबद्धता मध्ये वातावरण मैत्री नगर बनाउने विषय प्रमुख रहेको छ र सोही अनुरूप नगरले आफ्ना नीतिगत निर्णय तथा कार्यक्रमहरू अगाडि बढाइ रहेको छ । वातावरणमैत्री नगर बनाउन नगरपालिका भित्र विभिन्न उद्योगहरूलाई व्यवस्थित गर्न नगर कार्यपालिका र नगर सभाले विभिन्न मितिमा उद्योग सम्बन्धी निर्णयहरू गरी आफ्नो कार्य अगाडी बढाई रहेको कुरा सर्वविदितै छ ।
सोही सन्दर्भमा यस नगरपालिकाको वडा नम्बर ०२ र ०३ मा विगतमा सञ्चालित इँटा उद्योगहरूलाई विस्थापन गर्ने सम्बन्धमा नगरपालिका र उद्योगीहरू बिच विभिन्न चरणमा वार्ता भई मिति २०७५।०९।२७ गते इट्टा उद्योगका आधिकारिक प्रतिनिधिहरूबाट पेस भएको ४ बुँदे प्रतिबद्धता पत्रको आधारमा सरोकारवाला निकायको उपस्थितिमा मिति २०७५।०९।२८ गते जिल्ला समन्वय समितिको सभा हलमा ८ बुँदे करार सम्झौता भएको छ । सोही प्रतिबद्धता र सम्झौता कार्यान्वयनको लागि नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि सम्झौता बमोजिमको दायित्व इट्टा उद्योगीबाट पूरा नगरेको कारणले सोही सम्झौता कै शर्तानुसार नगरपालिकाले मिति २०७६ भाद्र ८ र ९ गते इट्टा उद्योगहरू विस्थापन गरेको र सो पश्चात् मिति २०७६।०५।१० गते इँटा उद्योगीहरूबाट सम्मानित श्री सर्वोच्च अदालत समक्ष रिट नम्बर ०७६-WO-०१६५ रिट निवेदन दर्ता गरेको र सम्मानित सर्वोच्च अदालतमा दायर रिट विचाराधीन रहेको अवस्थामा सम्झौता र नगरपालिकाको निर्णय विपरीत इट्टा उद्योगीहरूले पुनः इट्टा उद्योग सम्बन्धी विविध क्रियाकलाप सञ्चालन गरेको हुँदा नगरपालिकाले सम्मानित सर्वोच्च अदालतमा रिट नम्बर ०७६-FN-३६९ निवेदन दर्ता गरेको र सो दायर निवेदन पनि विचाराधीन अवस्थामा नै रहेको ।
सम्झौता बमोजिम नगरपालिकाले इट्टा उद्योग विस्थापन गर्दा लागेको खर्च दाखिला गर्न इट्टा उद्योगीहरूलाई बारम्बार ताकेता गर्दा पनि सम्झौता बमोजिमको दायित्व इट्टा उद्योगीबाट पूरा नगरेको कारणले सोही सम्झौता कै शर्तानुसार सम्मानित काभ्रेपलान्चोक जिल्ला अदालतमा मुद्दा नम्बर ०७६-CP-०२३७ मा फिराद पत्र दर्ता भएको र सो फिराद पत्रको मुद्दा समेत विचाराधीन अवस्थामा रहेको । संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितताको लागि सरोकारवाला निकायबाट सम्मानित उच्च अदालत पाटनमा रिट नम्बर ०७६-WO-०३४२ मा रिट दायर भएको र विभिन्न अदालतमा दायर भएका सम्पूर्ण मुद्दाहरूको अन्तिम सुनुवाइ भई नसकेको र विचाराधीन अवस्थामा रहेको छ ।
विभिन्न अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नहुँदै विचाराधीन मुद्दालाई असर पर्ने गरी नगरपालिकाको निर्णय र करार सम्झौता विपरीत नगरपालिकाले पटक पटक सचेत गराउँदा समेत इट्टा उद्योगीहरूले अवज्ञा गरी जबरजस्ती रूपमा पुनः इट्टा उद्योग सम्बन्धी क्रियाकलाप सञ्चालन गरेको र मिति २०७७।११।२६ गते देखि इट्टा उद्योगबाट पुनः धुवा उत्सर्जन कार्य सुरुवात गरेको अवस्था छ । विभिन्न अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नहुँदासम्म वातावरण प्रदूषण हुने कार्य नगर्न नगराउन सम्बन्धित सबैमा नमोबुद्ध नगरपालिका हार्दिक अनुरोध गर्दछ ।
नगरपालिकाबाट सम्झौता कार्यान्वयन गर्ने क्रममा निरन्तर सहयोग तथा समन्वय गर्नुहुने गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलान्चोक, उद्योग विभाग, वातावरण विभाग, जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र अन्तर्गतका सुरक्षा निकायहरू, सशस्त्र प्रहरी बल पाँचखाल, नमोबुद्ध नगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू एवम् कर्मचारीहरू, घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलान्चोक, विभिन्न राजनीतिक दलहरू, नागरिक समाज, कृषक। सम्पूर्ण नगर बासी, मेशिनरी उपकरण उपलब्ध गराउने संस्थाहरू, सम्पूर्ण सञ्चारकर्मीहरू, इँटा उद्योग व्यवसायीहरु लगायत सम्पूर्ण शुभ–चिन्तक तथा सहयोगीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
२०७७ साल चैत्र १२ गते बिहीबार

Comments

comments