मकवानपुर । समाजका युवा वर्ग पछिल्लो समयमा समाजसेवाको परोपकारी काममा सक्रिय देखिएका छन् । पछिल्लो समय समाज तथा वरपर केही अप्ठोरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् ।
यस्तैमा, हालै मात्र समाजसेवि एवम् सञ्चारकर्मी मायालु लामाले मकवानपुरको मनहरी गाउँपालिका वडा नं.४ मा रहेका वनकरिया समुदायका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।
सञ्चारकर्मी लामाले आफ्नै पहल र प्रयासमा उक्त समुदायका विद्यालयमा अध्ययरत बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने गरी कापि, कलम, पेन्सिल लगायत शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँले आफुले पाएको जानकारीअनुसार वनकरिया समुदायका ३१ जना विद्यार्थीका लागि ३० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको बताउनुभयो ।
सहयोग सामाग्री वडा अध्यक्ष ध्रुव खड्कामार्फत बालबालिकालाई हस्तान्तरण गरिएको छ । सहयोग सामाग्री बुझ्दै वडा अध्यक्ष खड्काले लामाको सेवाभाव देखेर आफु असाध्यै प्रभावित भएको बताउँदै विद्यार्थीहरुका लागी यसअघि पनि स्टेशनरि लगायत सामाग्री सहयोग हुंदै आएको जानकारी दिनुभयो । अति सिमान्तकृत मानिने वनकरिया समुदायको बालकालिकालाई शिक्षामा प्रोत्साहित गराउन र शैक्षिक सामाग्री अभाव नहोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको लामाले बताउनुभयो । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका अति सिमान्तकृत वनकरिया समुदायलाई सहयोग गर्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद व्यक्त गर्दै लामाले उक्त समुदायका विद्यार्थीलाई आवश्यक थप सहयोगका लागि आफुले पहल गर्ने उहाँको भनाई छ ।
अरनिको टेलिभिजनमा लामो समयदेखि कार्यरत लामा स्वयम् वनकरिया समुदायमा पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँ नेपालको बालबालिकाहरुको लागि ज्योति संस्थाकी सचिव पनि हुनुहुन्छ ।
पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएर नियमित आयआर्जनसँगै घर व्यवहारमा व्यस्त उहाँ समयको सही व्यवस्थापन गर्न सक्ने क्षमता कै कारण सामाजिक तथा मानवीय सेवासँगै महिला तथा बालबालिकाको हकहितमा क्रियाशील हुनुहुन्छ।
समाजसेवा, पत्रपत्रिका पढ्न रुची राख्ने लामा महिला तथा बालबालिकाको हकहित र समाजसेवामै आफ्नो जीवन बिताउने गरेको बताउँनुहुन्छ। पछिल्लो समय उहाँको व्यस्तता र समय व्यवस्थापन बारे अरुले पनि प्रशंसा गर्ने गरेका छन् । महिलाहरु पछि परेको या पारिएको बारे चर्चा भइरहँदा मायालुको सफलता पक्कै पनि अरु महिलाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ ।





















