धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । निमोनियाका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका दोलखाको विगु गाउँपालिकाका ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा सानुकृष्ण श्रेष्ठका अनुसार पुरुषमा मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चैत ११ गते साँझ अस्पताल ल्याइएका पुरुषको चैत १२ गते दिउँसो मृत्यु भएको थियो। डा श्रेष्ठले मृत्युपछि शंकाका आधारमा परीक्षण गर्दा शुक्रबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए। नेपाली सेनाको कालीजंग गणले मृतकको अन्त्येष्टि गरेको छ ।
त्यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले यसअघि काभ्रेमा जिल्लाका ४५ जना र अन्य जिल्लाका १७ गरी ६२ जनाको मृत्यु भएको जानकारी दिए । उनले काभ्रेमा हाल सक्रिय संक्रमित रहेका ७ जना होम आइसोलेसनमा रहेको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















