काभ्रे । नेपालको इतिहासमा महिलाहरूले जेल ब्रेक गरेको पहिलो इतिहास रचिएको दिन चैत १७ हो आज । गोर्खा जिल्लाको सदरमुकाममा रहेको गोर्खा जेलबाट माओवादी आस्थाका आधारमा जेल परेका ६ जना साहसिक महिलाहरूले सामान्य औजारबाट सुरुङ खनेर जेल तोडेका थिए । जनयुद्धको भीषण आधि हुरीको तत्कालीन समयमा २०५७ साल चैत १७ गते उनीहरूले सुरुङबाट बाहिरी आकाशमा निस्कन सफल भएका थिए ।
माओ जयन्ती अर्थात् पुस ११ मा सुरु गरिएको अभियानले चैत १७ गते मात्रै सार्थकता पाएको थियो । त्यसमा सहभागी माओवादी महिला नेतृहरू थिए उमा भुजेल, कमला नहर्की सपना, मिना मरहट्ठा, एन्जीला विक, सञ्जु अर्याल र रिता विक । जसमध्ये मिना मरहट्ठा र एनजीला विक शहीद भइसकेका छन् भने बाँकी अझै राजनीतिमा सक्रिय छन् ।
पुस ११ गते सुरु गरेको अभियान एक महिना रोकेको र पछि पुन सुरु गरी चैत १७ गते सम्पन्न गरेको जेल ब्रेक अभियानकी एक सदस्य कमला नहर्की सपनाले बत्ताइन् । जनयुद्ध दिवसमै चार दिवारबाट खुल्ला आकाशमा पदार्पण गर्ने चाहना र योजना थियो उनीहरूको । तर समय लम्बियो हुन्छ की हुन्न र मरिन्छ की बाँचिन्छबाट अगाडि बढ्दै गएका उनीहरूले एउटा सानो फलामको डन्डीको निरन्तर प्रयासबाट जेल तोड्न सफल भएका थिए ।
‘हामीसँग एउटा सानो फलामको रडको टुक्रा थियो । त्यसैको सहयोगमा हातका नङ्ग्राले कोट्याउँदै सुरुङ खनिएको थियो ।’ जेल ब्रेकको स्मरण गर्दै भावुक मुद्रामा नहर्कीले भनिन्, ‘हामीले मृत्युलाई जितिसकेका थियौँ, कि जितिन्छ की मरिन्छ भन्ने थियो । ‘नङले कोतर्दा हातका नङ्ग्राहरू छिया छिया भएका थिए रगत पच्छे हुँदै गरेको सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ ।’
पुलिसलाई छक्काउन विभिन्न तानाबाना बुनेका उनीहरूले सुरुङको मुखमा तरकारी वारी बनाएका थिए । सुरुङभित्र काम गर्दा बाहिर बाहिर म्युजिक बजाउनेदेखि लिएर नाचगान गर्ने सम्मको गतिविधि गर्दै उनीहरूले आफ्नो अभियान अगाडि बढाएका थिए ।
जेलको सुरुङबाट बाहिर निस्केको भोलिपल्ट बिहानै पार्टीको सम्पर्कमा पुगेको सम्झना गर्दै नहर्कीले भनिन् ‘साँच्चीकै बाहिर आइयो जस्तो लागेन । फेरी फर्केर जाने होला जस्तो लागिरहेको थियो ।’
जेल ब्रेकले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको देख्दा उनलाई भने त्यस्तो होला जस्तो लागेको रहेनछ । ‘हामीलाई यति धेरै महत्त्व होला जस्तो लागेको थिएन ।’ उनले भनिन् ‘हामी जस्ता मान्छेहरू जेल भित्र भन्दा बाहिर बस्न पाए क्रान्तिको लागि धेरै काम गर्न सकिन्छ भन्ने मात्रै मनोविज्ञान थियो हामीसँग ।’
जेल ब्रेकपश्चात् तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले जनादेश साप्ताहिकमा बहादुर छोरीहरू लेख नै लेखेका थिए । अहिले त कसैले सम्झने काम पनि गरेनन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















