काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभेदको बारेमा छलफलमा आउन आग्रह गरेका छन् । पार्टी भित्र आन्तरिक विवाद चर्किँदै जाँदा नेता नेपालले आइतबार काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रुपमा आग्रह गरे ।
समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उनले बताए । आफू अनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताए । उनले भने, ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुर्पयो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त प¥यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुप¥यो ।’
नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडिबाट चलाउनुपर्ने बताए । त्यसबेलाको संगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरूलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त ? २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरी ब्यूँताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र ? तर उहाँले स्वीकार गर्न चाहनुभएन । एकलौटी रुपमा मनपरी ढंगले आफुसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’
नेता नेपालले आफूहरु चुप लागेर नबस्ने बताए । नवौँ महाधिवेशनमा थोरै मत अन्तरले मात्रै आफु ओलीसँग पराजित भएको स्मरण गराउँदै उनले अझैपनि आफुहरुको ४२ जिल्लामा बर्चस्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।