नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्य चौकीमा दन्त शिविर आयोजना गरिएको छ । नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्रेपलान्चोक आयोजनामा, लायन्स क्लब अफ काठमाडाैँ कञ्चनजङ्घा र समाज डेन्टर हस्पिटलको प्राविधिक सहयोगमा दुई दिनको लागि शिविर सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले जानकारी दिए ।

शिविरमा डा. अङ्कित ज्ञवाली, डा. विवश राई, डा. रविना शाक्यसहितको ८ सदस्यीय मेडिकल टिमले सेवा दिएको लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक शिव अधिकारीले जानकारी दिए । पहिलो दिन १ सय १० जनाले सेवा लिएको उनले जानकारी दिए । शिविर शनिवार (भोलि) सम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातले गरेका थिए । कार्यक्रम आयोजना गरेको भूतपूर्व सैनिकहरूलाई धन्यवाद दिँदै उनले नेपाली काँग्रेसले बिपीवाद अनुसरण गर्नुपर्ने बताउनुभयो । नेपाल काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्याले ठुलो पीडा दिने भन्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा सभासद् हर्षजित लामा, दाप्चाका स्थानीय पार्टी प्रतिनिधिहरू, जिल्लाका भूतपूर्व सैनिकहरूको उपस्थिति थियो । भूतपूर्व सैनिक सङ्घ काभ्रेका सचिव राजु सिग्देलले सञ्चालन गरेको कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषद्का केन्द्रीय सदस्य समेत रहेका सङ्घका जिल्ला सदस्य हेम शंकर गिरीले स्वागत गरेका थिए ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्रेले आर्थिक सहयोग जुटाएर जिल्लास्थित पार्टी कार्यालयमा महामानव बिपी कोइरालाको अर्ध कदको सालिक निर्माण गर्दै छ । करिब १७ लाख अनुमान गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















