ढुंर्खक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा न २ मा रहेको पार्वती एलुम्वाई एशोसिएशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तीहरुलाई सम्मान गरेको छ ।
शनिवार पार्वती माध्यमिक बिद्यालयको प्राङ्गनमा भएको कार्यक्रममा शिक्षासेवी इन्द्रबहादुर तिमल्सिनालाई नागरिक अभिनन्दन गरिएको थियो । ग्रामीण भेगका आम नागरिकलाई शिक्षाका ज्योती छरेर शैक्षिक उन्नयनमा भूमिका खेलेको भन्दै तिमल्सिनालाई बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरे, पार्वती एलुम्वाईका अध्यक्ष मिठाराम बाँस्तोला (नविन) लगायतले उनलाई अभिनन्दन पत्रले सम्मान गरेका थिए ।
सोही कार्यक्रममा पूर्व बिद्यार्थी यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै पार्वती माध्यमिक बिद्यालयबाट सेवा निवृत भएका पाँच शिक्षकलाई सम्मान पत्रले सम्मान गरिएको थियो । पूर्व शिक्षक रामहरी शर्मा तिमल्सिना, केदारबहादुर क्षेत्री, प्रेमबिक्रम केसी, अर्जुनप्रसाद घिमिरे र धर्मलाल श्रेष्ठ सम्मानित भएका थिए ।
कार्यक्रममा पार्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक गोविन्द शर्मालाई बिद्यालयको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा एसईई २०७६ मा पार्वती माध्यमिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने आशिष तिमल्सिनालाई नगद पाँच हजार एक सय सहित प्रशंसा पत्रले सम्मान गरिएका थियो । तिमल्सिनाले ४ जिपिए ल्याएका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको सहसचिवमा निर्वाचित सरोज अधिकारी र कार्यसमिति सदस्य महोनकृष्ण तिमल्सिनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरे, बेथानचोक वडा न २ का वडा अध्यक्ष भगवान घिमिरे, नेपाल शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद तिमल्सिना, पार्वती एलुम्वाईका अध्यक्ष मिठाराम बाँस्तोला, उपाध्यक्ष पुरुषोत्तम तिमल्सिना, सचिव छवि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।