बनेपा । नेकपा एमाले माधव नेपाल समूह सम्बद्ध युवा–विद्यार्थीहरूले ‘चुच्चे नक्सा खोइ’ भन्दै काभ्रेको बनेपा चार दोबाटोमा प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको विभिन्न पदकमा नेपालको पुरानै नक्सा राखेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
चार दोबाटोमा जम्मा भएका युवा सङ्घ, नेपाल र अनेरास्ववियूका कार्यकर्ताहरूले सरकारको विरुद्ध विभिन्न नारा लगाउँदै कोण सभा समेत गरेका छन् । उनीहरूले ‘चुच्चे नक्सा खोइ ?’, ‘लम्पसारवादी सरकार मुर्दावाद’, ‘झुटो राष्ट्रवाद मुर्दावाद’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘केपी तिम्रो पाराले दुःख पायो साराले’, ‘चुच्चे नक्सा सहितको नेपालको पूर्ण नक्साको प्रयोग गर’ जस्ता नारा लगाएर उनीहरूले बनेपाको चार दोबाटोमा कोण सभा गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले काभ्रेका सचिव दीपक गौतमले राष्ट्रको नामबाट बाँडेको पदकमा भारतको निर्देशनमा चुच्चे नक्सालाई हटाउने प्रयत्न गरेको आरोप लगाए । ‘यी नै युवाहरूको बलमा राणाको अन्त्य भयो । यी नै युवाहरूको बलमा नेपालमा प्रजातन्त्र आयो । यी नै युवाहरूको बलमा नेपालमा गणतन्त्र आयो । यी नै युवाहरू हुन् जसले गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।’ गौतमले भने, ‘गणतन्त्रको जगमा बनेका प्रधानमन्त्रीले संसद् उभिएर सदनमा उभिएर नेपालमा कोही एउटा यस्तो राष्ट्रवादी छ भने खड्का प्रसाद ओली हो भनेका थियौँ । त्यसको केही महिना बित्न नपाउँदै नेपाली जनताबाट बनेको जनताको छोरीको रूपमा स्थापित राष्ट्रपतिले राष्ट्रको नामबाट बाँडेको पदकमा भारतको निर्देशनमा चुच्चे नक्सालाई हटाउने प्रयत्न गरेको छ । हामी राजा ज्ञानेन्द्र विरुद्ध सडकमा आयौँ, आज आफ्नै पार्टीको अध्यक्ष, आफ्नै पार्टीको नेताको विरुद्धमा यो युवाहरू फेरि पनि मुर्दावाद भन्दै सडकमा आएको छ ।’
उनले प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादको विरुद्ध मुर्दावाद भन्ने ठाउँमा आफूहरू आई पुगेको बताए । ‘सुतीरहनु भएको छ भने, सम्माननीय प्रधानमन्त्री ज्यू, आँखा खोलेर सुन्नुहोस्, हामी भन्न चाहन्छौँ, भारतीय नाकाबन्दीको विरुद्ध उभिएको बेला हामी चट्टान बनेर उभियौँ ।’ सचिव गौतमले भने, ‘आज हामी तपाईँको खोक्रो राष्ट्रवादका विरुद्ध मुर्दावाद भन्ने ठाउँमा आएका छौँ । होस् गर्नुहोला ।’
त्यसै गरी युवा सङ्घ नेपालका केन्द्रीय सचिव भेसराज शाहले चुच्चे नक्सा सरकारले जारी गर्दा सडकमा दिप प्रज्वलन गरेर स्वागत गरेको स्मरण गर्दै चुच्चे नक्सा हटाउने प्रयत्न भएपछि आफूहरू सडकमा सङ्घर्ष गर्न आइपुगेको बताए ।
‘हिजो सरकारले चुच्चे नक्सा जारी गर्दा यहीँ युवा विद्यार्थीहरू हो, जसलाई दिप प्रज्वलन गरेर स्वागत गरेको थियो । तर आज यहीँ नेपाल सरकारले चुच्चो नक्सा हटाएर रातारात भारतीय दलालहरूसँग साँठगाँठ गरेर पदक बाँडेको छ ।’ केन्द्रीय सचिव शाहले भने, ‘यो सुरुवात मात्रै हो, यो खालको पदकलाई बाँडेको छ खारेज गर्न सरकारसँग अनुरोध गर्दछौँ । यो पदक पाउने सच्चा राष्ट्रवादीहरूलाई हामी फिर्ता गर्न पनि अनुरोध गर्दछौँ ।’
कोणसभालाई सम्बोधन गर्दै युवा सङ्घ, नेपालका जिल्ला अध्यक्ष प्रताप सिं लामाले केपी ओलीले आफूलाई एक नम्बरको राष्ट्रवादी देखाउन जारी गरेको चुच्चे नक्सा आफैले हटाए पछि उनी खोक्रो राष्ट्रवादी भएको प्रस्ट पारे । ‘राष्ट्रवादको नाममा विभिन्न किसिमका गल्तीहरू गर्दा हामी चुप लागेर बस्ने हो र ? हामी सचेत विद्यार्थी, युवा र नागरिकका हैसियतले कुनै पनि हिसाबमा चुच्चे नक्सा हराइ रहँदा चुप लागेर बस्ने सक्दैनौँ ।’ अध्यक्ष लामाले भने, ‘केपी ओली सरकार चुच्चे नक्सा आफैले घोषणा गर्ने अनि हटाउने यो खोक्रो राष्ट्रवाद बाहेक के हुन सक्छ ?’
कोणसभालाई अनेरास्ववियू काभ्रेका अध्यक्ष बदन भण्डारीले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन युवा सङ्घ, नेपालका सचिव जयराम केसीले सञ्चालन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















