धुलिखेल । काभ्रे जिल्लामा ४ वटा प्रहरी ईकाई भवनको उद्घाट भएको छ । वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा ती भवनहरु निर्माण सम्पन्न भएको थियो ।
जिल्लाको पाँचखाल नगरपालिका र डाँडापारी क्षेत्रका दुईवटा गाउँपालिकामा निर्माण भएको प्रहरी इकाई भवन निर्माण सम्पन्न भएको थियो । जस अनुसार पाँचखाल नगरपालिका वडा नं १३ स्थित तिमालबेशीमा २ करोड २६ लाख ६० हजार ९ सय ३९ रुपैँयाको लागतमा निर्मित भवन, महाभारत गाउँपालिकाको वडा नं ४ स्थित फोक्सिङ्गटारमा २ करोड २८ लाख ३१ हजार ७ सय २८ रुपैँयाको लागतमा निर्मित भवन, सोही गाउँपालिकाकै वडा नं १ स्थित गोकुलेमा २ करोड ३४ लाख २४ हजार ९ सय ३३ रुपैँयाको लागतमा निर्मित भवन र खानीखोला गाउँपालिका वडा नं ५ स्थित तालढुङ्गामा २ करोड २२ लाख ३७ हजार ७ सय ८६ रुपैँयाको लागतमा निर्माण भएको हो ।
सबै भवनको उद्घाटन गत चैत्र २६ र २७ गते बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाले गरेका थिए ।
प्रहरी ईकाई भवनहरुको निर्माणका लागि २०७६ साल जेष्ठ १७ गते सम्झौता भएको थियो । सम्झौता भएका ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते उद्घाटन भइसकेको छ भने प्रहरी चौकी फलामेटारको निमार्ण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।