काठमाडौँ । ‘काभ्रे सेवा समाज’ को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिवार भएको साधारण सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ ।
साधारण सभाको लोक सेवा आयोगका निवर्तमान अध्यक्ष एवं संस्थाको सल्लाहकार समितिका संयोजक उमेशप्रसाद मैनालीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मैनालीले धेरै भन्दा धेरै काभ्रेलीलाई यस संस्थामा समेट्नुपर्नेमा जोड दिए । ‘संस्थामा हाल २ सय ८ जना आजीवन सदस्य रहेको महासचिवको प्रतिवेदनबाट जानकारी भयो । अझै पनि धेरै काभ्रेलीहरू यस संस्थामा समेटिनु भएको छैन ।’ मैनालीले भने, ‘अबको कार्यसमितिले राष्ट्रसेवक, कलाकार, पत्रकार, वैज्ञानिक, अनुसन्धानकर्ता, पर्यटन व्यवसायी, शिक्षा सेवी, उद्योगी, व्यवसायीलगायत धेरै क्षेत्रमा योगदान गर्दै आएका काभ्रेलीहरूलाई समेट्ने अभियान ल्याउन आग्रह गर्दछु । यो विशुद्ध सेवामूलक सामाजिक संस्था भएको हुँदा कहिल्यै पनि राजनीतिक रङ्ग नआओस् ।’
कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालले काभ्रे स्थायी बसोबास भएर कामको सिलसिलामा काठमाडौँ उपत्यकामा रहेका काभ्रेलीहरूले जिल्लामा सेवामूलक कामका लागि संस्था स्थापना गरेको स्मरण गराए । ‘अब काभ्रे जिल्लाका सबै स्थानीय तहहरूसम्म पुगेर संस्थाले सेवामूलक तथा सामाजिक कार्यहरू गर्न जरुरी भइसकेको छ । यसबाट संस्थाको गरिमा बढ्ने मात्रै नभई संस्थाको उद्देश्य पूर्तिमा समेत सहयोग पुग्नेछ ।’ उनले भने ।
संस्थाका महासचिव निभराज जोशीले महासचिवको प्रतिवेदन पेस गर्दै संस्थाले यस अवधिमा जिल्लास्थित विद्वतवर्गहरुसँग साक्षात्कार, काभ्रे, काठमाडौँ उपत्यका र सो बाहिर रहेका काभ्रेलीहरूको विवरण सङ्कलन, सम्पर्क सूत्र विस्तार, विभिन्न कालखण्डमा काभ्रेका लागि योगदान गरेका पूर्वजहरूबारे अध्ययन, अनुसन्धान र व्यक्तित्वको प्रचार प्रसार गरिएको जानकारी दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरू विश्वनाथ उलक, डा. संग्रामजित लामा, नेपाल सरकारका सचिव गोपीनाथ मैनाली, संस्थापक अध्यक्ष प्रह्लाद केसी, निर्वाचन समितिका संयोजक विनोदकुमार गुरागाईँ, संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं नेपाल सरकारको पूर्व सचिव जीवनप्रभा लामा, काभ्रेटाइम्सका सम्पादक आरएल श्रमजीवीलगायतले काभ्रे सेवा समाजले पुराएको योगदान र आगामी कार्यदिशाबारेमा चर्चा गरेका थिए ।
नयाँ कार्यसमिति चयन
आठौँ वार्षिक साधारण सभाकै अवसरका वर्ष २०७८–२०७९ का लागि संस्थाको नयाँ कार्यसमितिसमेत चयन भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सदस्यहरू ११ जना गरी १७ सदस्यीय कार्यसमितिको निर्विरोध निर्वाचन भएको थियो । निर्वाचन समितिका संयोजक विनोदकुमार गुरागाईँले निर्विरोध निर्वाचित कार्य समितिको घोषणा गरेका थिए ।
नयाँ कार्य समितिमा अध्यक्ष नारायण महत क्षेत्री (पनौती–१०), वरिष्ठ उपाध्यक्ष जीवनप्रभा लामा (नमोबुद्ध–१०), उपाध्यक्ष पूर्णसिंह खड्का (पाँचखाल–१२), महासचिव मधुसूदन गुरागाईँ (पनौती–१०), कोषाध्यक्ष दिना श्रेष्ठ (बनेपा–७), सचिव राघवसिंह थापा (पनौती–५), सदस्यहरू अशोककुमार थापा (पनौती–११), हेमकुमार श्रेष्ठ (नमोबुद्ध–९), मदनबहादुर क्षेत्री(धुलिखेल–४), गोविन्दप्रसाद गौतम(बेथानचोक–३), कमलप्रसाद तिमल्सिना(नमोबुद्ध–२), मणिराज श्रेष्ठ (पनौती–७), लभराज जोशी(बनेपा–५), रेश्मा बुद्धाचार्य(पनौती–६), उर्मिला कोइराला(पनौती–१०), सफला खड्का(पनौती) र राजानन्द माण्डव्य(बनेपा–३) रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।