तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ मा लिफ्टीङ सिँचाइको शिलान्यास भएको छ । प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ र प्रदेश सभा सदस्य सांसद रत्न ढकालले एक कार्यक्रमका बिच आज (बुधवार) संयुक्त रूपमा उक्त योजनाको शिलान्यास गरेका हुन् । सुनकोसी नदीबाट पानी लिफ्टीङ गर्न लागेको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सांसद तामाङले विकास निर्माणले वडा नं. ९ मा धेरै परिवर्तन भएको बताए । आफू सांसद भएपछि तेमालमा विशेष गरी ३ वटा योजनामा केन्द्रित भएको बताए । ‘म निर्वाचित भएपछि तेमालमा मुख्य रूपमा ३ वटा विषयमा केन्द्रित भएको छ ।’ सांसद तामाङले भने, ‘तेमालमा खानेपानीको योजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने, बिजुलीको काठको पोलहरू फेरेर फलामको पोल राख्ने र तेमालको मुख्य सडक पिच गर्ने मेरो मुख्य योजना भित्र परेको छ ।’ सोही अनुसार खानेपानीको काम अन्तिम चरणमा आएको, पोल फेर्ने कार्य निरन्तर चलिरहेको र भकुन्डे, तेमाल पौवा मुक्पाटार हुँदै माम्तीसम्मको सडक पिच हुन प्रक्रियामा अगाडि बढेको उनले बताए ।
उनका अनुसार यो वर्ष रणनीतिक सडकको रूपमा रहेको उक्त सडक पिच गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ ।

त्यसै गरी प्रदेश सभा सदस्य सांसद रत्न ढकालले आफूले जनतासँग गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताए । निर्वाचनको क्रममा जनतासँग खानेपानी, सडक, बिजुलीदेखि सबै विकासका पूर्वाधारहरू निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे अनुसार नै लिफ्टीङ सिँचाइको योजना अगाडि बढेको बताए । ‘खानेपानी जनताको आधारभूत आवश्यकता भएकोले यो पूरा गर्ने वाचा गरेका थियौ हामीले । यो अब चाँडै नै पूरा हुँदै छ । खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्छौँ भनेका थियौँ यसको आज हामीले शिलान्यास गरेका छौँ ।’ सांसद ढकालले भने, ‘सडक सञ्जाल पनि प्रत्येक टोल–टोलमा पुगेको छ । यसलाई स्तरोन्नति गर्नुपर्ने छ ।’
लिफ्टीङ सिँचाइ योजनाको लागि प्रदेश सरकारले यो प्रारम्भिक रूपमा ४० लाख रकम विनियोजन गरेको छ । यो वर्ष २ वटा ट्याङ्की र केही पाई खरिद गर्न लागेको उपभोक्ता समितिका अध्यक्ष ङेमादोर्जे थोकरले जानकारी दिए ।

सुनकोसी लिफ्टीङ सिँचाइ योजना आएपछि स्थानीय जनता खुसी भएका छन् । अलिअलि भएको पानी पनि सुक्दै गएपछि बस्तुभाउ पाल्न समेत नसकेको अवस्थामा खेतीपाती गर्न र बस्तुभाउ पाल्न सजिलो हुने स्थानीय बताउँछन् । ‘म आफू पनि खुसी छु, वडा भित्रका सबै किसानहरू पनि खुसी देखिन्छ ।’ उपभोक्ता समितिका अध्यक्ष थोकरले भने, ‘यो योजना सम्पन्न भएपछि हाम्रो आय अर्जन बढ्ने छ । गाउँ छोडेर हिँडेका युवाहरू समेत अब गाउँमा फर्किने पक्का छ ।’
शिलान्यास कार्यक्रममा नकपा (माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य डिएम लामा, वडा अध्यक्ष चन्द्रबहादुर लामा, स्थानीय कम्युनिस्ट पार्टीका संस्थापक नेता द्वय पदमबहादुर तामाङ, चलाखसिं तामाङ, वडा सदस्यहरू टेकबहादुर थोकर, रस्मिता भण्डारी, कुशेश्वर माविका प्रधानाध्यापक डिएस तामाङ, मेलमिलाप केन्द्रका अध्यक्ष सुरेशकुमार दोङ, नेकपा (माओवादी केन्द्र), वडा नं. ९ इकाई समितिका अध्यक्ष हस्तबहादुर तामाङ लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।