भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा एक जना युवकको हत्या भएको छ । अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
परिसरका सूचना अधिकारी डिएसपी दिपक गिरीका अनुसार गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिए हो ।
विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
मृतक राई आशिष खुलाल, महोत्तरी जिल्ला घर भइ मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बलसँग सिपाडोल गएको प्रहरी अनुसन्धानमा खुलेको छ । ‘खुलाललाई भेटेर गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीको क्रममा वादविवाद भई झै–झगडा भएको देखिन्छ,’ डीएसपी गिरीले भने ।
झगडाको क्रममा खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि योञ्जन र बल झ्यालबाट भाग्न सफल भएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले राईको हत्या गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार स्थायी घर भई सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल गाई पालन गर्ने गोकुल बहादुर खुलालको छोरा वर्ष २० का आशिष खुलाललाई पक्राउ गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रहरी नायव उपरीक्षक गिरीले रातोपाटीलाई जानकारी दिएका छन् ।
Comments