काभ्रे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओली ध्वंसको अभियन्ता भएको आरोप लगाएका छन् । बनेपामा भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।
‘केपी ओली कहिल्यै पनि निर्माणका अभियन्ता भएनन् । ध्वंसका अभियन्ता बनिरहे ।’ बैठकलाई सम्बोधन गर्दै नेपालले भने, ‘अराजकताको पर्याय हो ओली । ओलीलाई मैले उहिले देखी चिनेको छु ।’
बैठकलाई सम्बोधन गर्दै नेपालले हर चुनौतीहरूको सामना गर्ने आँट राख्न कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले केपी ओली ज्ञानेन्द्र जसरी नै सिद्धिने दाबी समेत गरे । ‘ज्ञानेन्द्रलाई मिलाउन सकिन्छ कि भनेर मिलाउने कोसिस गरेँ, मैले सकिन । गणतन्त्रको निर्णय गर्ने मै हुँ । हामी सिद्ध्याउने तिर लाग्यौँ । मैले नै हो गणतन्त्रको नेतृत्व गरेको ।’ नेता नेपालले भने, ‘तर पार्टीले गणतन्त्रमा जाने निर्णय गर्दा केपीले विरोध गरे । ओलीलाई गणतन्त्रको माया छैन, हामीलाई माया छ । मैले मिलाउन खोज्दै छु, मिल्ने अवस्थामा छैन । उनी पनि ज्ञानेन्द्र जसरी नै सिद्धिने छ ।’
बैठकमा ओलीको विरुद्ध कडा रूपमा प्रस्तुत हुँदै उनले ओली पदको भोको भएको र आफूहरू सिद्धान्त र सङ्गठनको भोको रहेको बताए ।
त्यसैगरि केपी ओली बालुवा भएको बताउँदै नेता नेपालले जति पेले पनि तेल ननिस्केको बताए । ‘हाम्रो सङ्गठन राम्रा राम्राको सङ्गठन हो यो । हामीले सङ्गठन बनाउन लाग्यौ ओलीले भजन मण्डली बनाउन लागे ।’ उनले भने ।
मदन भण्डारीले केपी ओली नेतृत्वमा पुग्यो भने पार्टी विसर्जन हुन्छ भन्ने गरेको प्रसङ्ग कोट्याउँदै उनले ओलीलाई भने, ‘‘केपी कमरेड सुध्रिनुहोस् ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।