आधिकारिक अध्यक्ष वाइबा नै हो –शाक्य
केपीको विरुद्ध नारा लगाउन बाध्य भयौँ –वाइबा
बागमती प्रदेशमा पनि कर्णाली दोहोरिन सक्छ –सांसद लम्साल
बनेपा । नेकपा एमाले काभ्रेको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष समेत रहेका प्रदेश कमिटी सदस्य टोक बहादुर वाईबाले २ सय १ जनाको जिल्ला समिति घोषणा गरेका थिए ।
यस अघि नै एमाले बागमती प्रदेश कमिटीले वाइबाको अध्यक्षतामा पदाधिकारी ठोस गरेको थियो । जस अनुसार उपाध्यक्षमा प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईँ, सचिवमा विद्यार्थी नेता दीपक गौतम र उपसचिवमा अर्का विद्यार्थी नेता भक्तकुमारी लामालाई चयन गरेको थियो ।

‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ ।’ भन्ने मूल नाराका साथ बसेको विस्तारित बैठकमा सबै स्थानीय तहको पदाधिकारी समेत घोषणा गरेको थियो । साथै विभिन्न जन वर्गीय सङ्गठनको जिल्ला समिति समेत घोषणा गरेको थियो ।
आधिकारिक अध्यक्ष वाइबा नै हो –शाक्य
बैठकलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टीले इन्चार्ज तोकिएको गोकुल बास्कोटाले जिल्ला पार्टी अध्यक्ष वाइबालाई कहिले पनि सहयोग नगरेको बताए ।

विगतमा टोक बहादुर वाइबा अध्यक्षमा निर्वाचित भएपछि पार्टी कार्यालयमा बैठक बस्न नदिएर आफूलाई समेत आक्रमण गर्ने प्रयत्न गरेको स्मरण गरेका थिए । ‘वाइबाजी अध्यक्षमा निर्वाचित भएपछि म लगायतका कमरेडहरू पार्टी कार्यालयमा बैठक बस्न आएको थियौँ । कार्यालय घेराउ गरेर केही अराजक जत्थाले आक्रमण गर्न सुरु नै गरे । वाइबाले प्रतिकार गर्न थाले ।’ गोकुल बास्कोटालाई इंगित गर्दै शाक्यले भने, ‘हामी नेता रु आउँदा त्यस्ता खालको व्यवहार देखायो, त्यसको नेतृत्व कसले गरेको हो, थाहा भो होला ।’
उनले केन्द्रमा केपी ओली आधिकारिक अध्यक्ष भएकोले जिल्लामा वाइबा नै आधिकारी अध्यक्ष रहेको दाबी गरे । ‘केन्द्रमा केपी ओली आधिकारिक अध्यक्ष हुन् भने यो जिल्लाको आधिकारिक अध्यक्ष वाइबा नै हो ।’ नेता शाक्यले भने, ‘अराजक जत्थाले मान्दिन भनेर हुन्छ ? आजको बैठक पनि आधिकारिक हो ।’
केपीको विरुद्ध नारा लगाउन बाध्य भयौँ –वाइबा
यसै बिच जिल्ला अध्यक्ष वाइबाले पार्टीको विधान अनुसार नै उक्त बैठक बसेको दाबी गर्दै काभ्रेलाई एमालेको किल्ला आफ्नो नेतृत्वमा बनेको बताए । ‘काभ्रे मेरै नेतृत्वमा वाम किल्ला बनाएको जिल्ला, एमाले किल्ला बनाएको जिल्ला हो ।’ वाईबाले भने, ‘आजको बैठकमा उहाँहरूलाई पनि बोलाएका थियौँ । आउनु भएन । किन भने पार्टीको ९ औँ महाधिवेशनले पारित गरेको विधान अनुसार यो बैठक बसिरहेका छौँ ।’

उनले केपी ओलीसँग नैतिकता नभएको आरोप लगाए । ‘०६४ सालको निर्वाचनमा हाम्रो पार्टी दोस्रो स्थानमा आयो, सबै नेताहरू हारे ।’ वाइबाले भने, ‘त्यसको नैतिक जिम्मा हाम्रो नेता कमरेड माधव नेपालले लिनुभयो, नैतिकता प्रदर्शन गर्दै पार्टी नेतृत्वबाट राजीनामा दिनुभयो । तर ओलीको नैतिकता खोइ ? लाज लाग्दैन ?’
आफूहरू सारा नेता सिद्ध्याएर आफू मात्र नेता बन्ने ओली चरित्रको विरुद्धमा लागेको बताए ।
बागमती प्रदेशमा पनि कर्णाली दोहोरिन सक्छ –सांसद लम्साल
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद लक्ष्मण लम्सालले कर्णाली प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि फ्लोर क्रस हुने चेतावनी दिए ।

‘करोडौँको भ्रष्टाचारको बिल्ला हामीले भिरेका छैनौ, हामीले संसद् विघटन गरेका छैनौँ । काण्डै कान्डाको नेतृत्व गर्नेहरू अर्ति उपदेश दिँदै हिँडेका छन् ।’ लम्सालले भने, ‘कर्णालीबाट एउटा इन्जेक्सन सुरु भएको छ । यो पार्टी फुटाउन होइन, बागमतीमा पनि बहुमतमा छ । बागमतीमा पनि त्यस्तो घट्ना सक्छ । यो ओलीले सुरु गरेको हो हामीले प्रतिरक्षा मात्र गरेका हौँ ।’
उनले काभ्रेमा पार्टीलाई विभिन्न कान्डाबाट जोगाउन र जबजको रक्षाका लागि आफूहरू सशक्त रूपमा अघि बढेको बताए ।
बैठकमा एमाले जिल्ला उपाध्यक्ष तथा प्रदेश सांसद बसुन्धारा हुमागाईँले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको बताउँदै जसले मुद्दा हार्छ उसैको पक्षमा लागिरहने परम्पराको अब अन्त्य भएको बताए ।

पार्टी, विभिन्न जवसमा मनोनीत भएकाहरूलाई प्रदेश संयोजक शाक्यले पद तथा गोप्यनियताको शपथ ख्वाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।