प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल धुलिखेलमा रहेको मानव कल्याण समाजको ‘सेवा घर’मा पुगेका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन तथा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनको जन्मदिनको अवसरमा केही सहयोग गर्नका लागि सांसद लम्साल सेवा घरमा पुगेका हुन् ।
सडकमा अलपत्र अवस्थामा रहेका मानिसहरूलाई उद्धार गर्दै सेवा दिँदै आएको सो घरमा लम्सालले विभिन्न सामाग्रीहरू लिएर पुगेका थिए ।

सेवा घरमा युवा सङ्घ, नेपाल र अनेरास्ववियूका नेताहरू समेत पुगेका थिए । सो अवसरमा सरसफाइका विभिन्न सामाग्री र खाना पकाउने भाँडाकुँडाहरू लिएर उनीहरू पुगेका हुन् ।
सामाग्री हस्तान्तरण गर्दै सांसद लम्सालले कम्युनिस्ट पार्टी स्थापना हुँदा पार्टीले गाँस, बास र कपासको पूर्ण रूपमा ग्यारेन्टी भएको राज्य स्थापनाको देय लिएको बताए । मानव कल्याण समाजको उद्देश्य र कम्युनिस्ट पार्टीको उद्देश्यमा समान रहेको बताउँदै राज्यले गर्नुपर्ने कार्य एउटा संस्थाले गर्नुपरेकोमा दुःख व्यक्त गरे ।
‘खासमा यो कार्य राज्यले गर्नुपर्ने हो । कुनै पनि मान्छेको लागि गाँस, बास र कपासको व्यवस्था गर्ने कार्य राज्यको दायित्व भित्र पर्दछ ।’ उनले भने, ‘यो संस्थाले हजारौंलाखौले गर्ने भन्दा पनि धेरै सेवा गरेको छ । कर्मलाई धर्म ठानेर गरिएको छ । राज्यले गर्न नसकेकोले समाजको चेतनशील मान्छेहरुले गर्न बाध्य भयो ।’

उनले आफूहरूले गरेको सहयोग प्रेम र सद्भाव मात्र जोड्न खोजेको र सो सामाग्री पर्याप्त नरहेको बताए । आफूले यस अघि सो संस्थाकोबारेमा केही थाहा नपाएको र आगामी दिनमा आफूले बजेटको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा युवा सङ्घका केन्द्रीय सचिव भेषराज शाह, जिल्ला अध्यक्ष प्रताप लामा, अनेरास्ववियूका अध्यक्ष वदन भण्डारी लगायतका नेताहरू पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















