धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै थालेपछि प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि यो अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।
‘हाल विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९ रोगको नयाँ भेरियन्टको सङ्क्रमण नेपालमा पनि दिन प्रति दिन वृद्धि हुँदै गइरहेको अवस्थालाई मध्यनजर राखी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी तपाईँको मास्क खोइ कार्यक्रम सञ्चालन गरेका छौँ ।’ डिएसपी खतिवडाले भने, ‘जिल्लाका बढी जनघनत्व भएको सहरी क्षेत्र धुलिखेल, बनेपा, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानहरूमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकी समेतबाट खटिएको प्रहरी अधिकृत यो अभियानमा लागेका छन् ।’
प्रहरीले मास्क नलगाई हिँड्ने सर्वसाधारण नागरिकहरूलाई यात्रा गर्दा मास्क लगाई हिँड्न सम्झाई बुझाई गरी अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुलरयात्रा नगर्नु हुन र हिडडुलरयात्रा गर्नु परेमा मास्क लगाएर मात्र हिँडडुल गर्न सचेत गराई रहेको छ । साथै यो अभियानमा सर्वसाधारण तथा ज्येष्ठ नागरिकहरूलाई १ हजार ४९ थान मास्क वितरण गरिएको खतिवडाले जानकारी दिए ।
यसैबिच पटक–पटक सम्झाई बुझाई गर्दा समेत अटेर गर्ने २५ जनालाई प्रति व्यक्ति एक सय रुपैयाँका दरले जरिवाना गरी सम्झाई बुझाई पठाइएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















