तामाङ समुदायका नेताहरू टोकबादुर वाइबा, संग्रामजीत लामा, इन्द्र लामा, जेनिस लामा लगाएका नेताहरूलाई एकापसमा जुधाएर बास्कोटाले फाइदा लिँदै आएको एमाले कार्यकर्ताहरूले समेत बताउन थालेका छन् । त्यसैको फलस्वरूप बास्कोटाले सांसद लामालाई ‘उचाल्यो–उचाल्यो, थचार्यो’ जस्तै गरेका हुन कि भन्ने अडकल काट्न थालेका छन् ।
मकवानपुर । बुधवार बिहानै देखि बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको चर्चासँगै विभिन्न अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा काभ्रेका सांसद चन्द्र लामा मन्त्री बन्ने चर्चा चुलिएको थियो । ४ बजे शपथ खाने सुनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा सांसद लामालाई बधाई नै बधाई ओइरियो ।
एमालेको सहित काँग्रेस, माओवादी केन्द्रका कार्यकर्ता देखि नेतासम्मले पनि लामालाई मन्त्री भएकोमा बधाई दिए । मन्त्री र राज्यमन्त्री गरी ११ जना थपिने चर्चा भए पनि ३ जना मन्त्री र १ जना राज्यमन्त्री मात्र थपिएपछि लामालाई दिएको बधाई यो पटक खेरा नै गएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मा लामालाई दिने पक्का थियो । चर्चा र विश्वसनीय स्रोतले पनि त्यही कुरा बताइरहँदा सञ्चार माध्यमहरूले पनि त्यहीँ स्रोतको दाबी गर्दै समाचार सम्प्रेषण गरे । शायद त्यहीँ आधारमा उनलाई बधाई रोकिएन ।
चन्द्र लामा किन मन्त्री बनेनन् ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा ओली गुटको एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गोकुल बास्कोटाले चन्द्र लामा मन्त्री हुने घोषणा गरेका थिए । त्यतिखेर प्रचण्ड–नेपाल गुटमा लागेका प्रदेश सांसद बसुन्धारा हुमागाईँलाई कटाक्ष गर्दै उनले ‘हुमागाईँ होइन, लामा बन्छ मन्त्री’ भनेका थिए । सोही अनुसार उनी मन्त्री बन्नेमा सबैको विश्वास थियो ।
तर बुधवार उनी मन्त्री बन्ने चर्चा मात्र चल्यो । यो पटक पनि केपी ओली नेतृत्वको पार्टी समावेशी सिद्धान्तलाई आत्मसात् गर्न चुकेको बताउन थालेका छन् । कतिपयले लामा मन्त्री नहुनुमा पार्टी भित्र कनिष्ठ नेता भएकोले भन्न थालेका छन् भने कतिपयले तामाङ समुदायको सोझो इमानदार नेता भएकोले भन्ने चर्चा समेत गर्न थालेका छन् ।
त्यसै गरी उनी मन्त्री नहुनुमा गोकुल बास्कोटा जिम्मेवार रहेको समेत चर्चा चल्न थालेको छ । तामाङ समुदाय प्रति अनुदार रहेको बास्कोटाले पार्टी राजनीतिमा समेत तामाङ समुदायका नेताहरूलाई कुनै पनि प्रकारको साथ दिएका छैनन् । तामाङ समुदायका नेताहरू टोकबादुर वाइबा, संग्रामजीत लामा, इन्द्र लामा, जेनिस लामा लगाएका नेताहरूलाई एकापसमा जुधाएर बास्कोटाले फाइदा लिँदै आएको एमाले कार्यकर्ताहरूले समेत बताउन थालेका छन् । त्यसैको फलस्वरूप बास्कोटाले सांसद लामालाई ‘उचाल्यो–उचाल्यो, थचार्यो’ जस्तै गरेका हुन कि भन्ने अडकल काट्न थालेका छन् ।
तर पनि मन्त्री बन्नेमा सांसद लामाको सम्भावना भने टरेको छैन ।
को–को बने मन्त्री ?
मुख्यमन्त्री डोरमणि पौडेलले ३ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले जनाएको छ । त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा।रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले पद र गोपनीयताको शपथ ग्रहण आजै गराएका छन् ।
मुख्यमन्त्री पौडेलले नेकपा एमालेको प्रधानमन्त्री ओली निकट सांसदहरूलाई मात्रै मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















