‘तेमाल गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीको स्वास्थ्य परीक्षण तथा खोपको व्यवस्थापन समेत नगरी बेवास्ता गरिरहेको र शिक्षकको मानमर्दन हुने गरी निर्णय समेत गरेकाले तेमाल गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू मिति २०७८/०१/१७ गतेदेखि केन्द्र सरकारको अर्को निर्णय नआएसम्म बन्द गर्ने जानकारी गराउन चाहन्छौँ ।’

तेमाल । नेपाल शिक्षक महासङ्घ, तेमाल गाउँ समितिले तेमाल गाउँपालिकाले विद्यालय पठनपाठन सम्बन्धी विद्यालयहरुलाई दिएको निर्देशन प्रति आपत्ति जनाएको छ । बिहीबार सो निर्देशनको विरुद्ध महासङ्घले गाउँपालिका अध्यक्ष सलामसिं तामाङलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
गाउँपालिकाले विद्यार्थीहरूलाई विद्यालयमा भौतिक उपस्थिति नगरी पठनपाठनलाई विभिन्न विकल्पका साथ अघि बढाउन निर्देशन दिए पनि शिक्षकहरूलाई भने अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो । महासङ्घले यस विषयमा आपत्ति जनाएको छ । त्यसैगरि केन्द्र सरकारले दिएको निर्देशन पूर्णरुपमा पालना गर्ने र तेमाल सरकारले दिएको निर्देशन भने नमान्ने भन्दै शुक्रवार (आज) देखि तेमालका सबै विद्यालय बन्द गर्ने जानकारी समेत गाउँपालिकालाई दिएको छ ।
‘वर्तमान अवस्थामा विश्व नै कोभिड–१९, भाइरस सङ्क्रमणको महामारीले आक्रान्त बनेको कुरा सर्वविदितै छ । यसबाट नेपाल पनि अछुतो रहेको छैन । यसकै कारणले मिति २०७८/०१/१३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय गरेको तर तेमाल गाउँपालिकाको मिति २०७८/०१/१५ गतेको निर्णय तथा निर्देशनमा स्वास्थ्य सम्बन्धी मापदण्ड र नागरिकको मौलिक हक विपरीत निर्णय र निर्देशन भएको हुँदा उक्त बुँदा नं. ङ र च प्रति नेपाल शिक्षक महासङ्घको गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको छ ।’ गाउँपालिका अध्यक्ष तामाङलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘साथै उक्त बुँदाहरूको तत्कालै सच्याउन वा फिर्ता लिन जोडदार माग गर्दछ । तेमाल गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीको स्वास्थ्य परीक्षण तथा खोपको व्यवस्थापन समेत नगरी बेवास्ता गरिरहेको र शिक्षकको मानमर्दन हुने गरी निर्णय समेत गरेकाले तेमाल गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू मिति २०७८/०१/१७ गतेदेखि केन्द्र सरकारको अर्को निर्णय नआएसम्म बन्द गर्ने जानकारी गराउन चाहन्छौँ ।’
ज्ञापन पत्रमा कुवाङछु लामा अध्यक्ष, नेपाल शिक्षक महासङ्घ, तेमाल, जगतमान तामाङ सचिव नेपाल शिक्षक महासङ्घ, तेमाल, खड्गा लामा केन्द्रीय सचिवालय सदस्य, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, बलराम रायमाझी अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, तेमाल, बाबुलाल तामाङ अध्यक्ष, नेपाल शिक्षक सङ्घ, तेमाल, धर्मप्रसाद मैनाली अध्यक्ष अखिल नेपाल शिक्षक सङ्गठन, तेमालले हस्ताक्षर गरेका छन् ।

यस्तो थियो तेमाल गाउँपालिकाले जारी गरेको निर्देशन 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।