काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ। मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते, बुधबार सकिँदैछ। प्रमुख जिल्ला अधिकारीहरूको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि अब बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ।
यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थियो। निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
यस्तै निषेधाज्ञाको समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए। नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ। पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ। सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।