नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीसँग कुनै पनि प्रकारको सहमति नभएको बताएका छन् । ओलीले सहमतिको लागि नेता नेपालसँगको भेटघाटलाई तिब्र बनाइरहेको बेला सामाजिक सञ्जाल मार्फत आज नेता नेपालले उक्त कुरा बताएका हुन् ।
नेपालले पार्टी भित्र सहमतिको लागि दुईवटा सर्त राखेका छन् । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका ओली गुटको बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन रहेको नेपालले प्रष्ट पारेका छन् ।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















