काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन कक्ष तयार भएको छ । गाउँपालिकाले तीन स्थानमा १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेसँगै वडा नं. ५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० बेडको आइसोलेसन कक्ष तयार भएको हो ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार आजै एक जना सङ्क्रमित सो आइसोलेसनमा भर्ना भएको छ । ‘गाउँ कार्यपालिका र स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठकले निर्णय गरे बमोजिम हामीले अक्सिजन सिलिन्डर समेत खरिद गरी ल्याइसकेका छौँ ।’ अध्यक्ष गौतमले भने, ‘२० सिलिन्डर तयारी अवस्थामा राख्ने योजना अनुसार १० वटा ठुलो सिलिन्डर ल्याइसकेका छौँ बाँकी पनि चाँडै आइपुग्छ । आजै एक जना बिरामी भर्ना भएको छ ।’

गाउँपालिकाले तोकिएको २ वटा स्वास्थ्य संस्थामा भने आइसोलेसन कक्ष निर्माणको तयारी तीव्र गतिमा भइरहेको स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । ‘भोलि सम्ममा वडा नं. २ मा रहेको डिसिडब्लुसि सामुदायिक अस्पताल र वडा नं. ३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष तयारी हुनेछ ।’
सङ्क्रमित बढ्दै गएपछि गाउँपालिकाले आजै एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















