नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषदको बैठक स्थगित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
प्रचण्डले शनिबार एक वक्तव्य जारी गर्दै ओलीलाई परिषदको बैठक स्थगित गर्न आग्रह गरेका हुन् । संविधानको मर्म र भावना विपरीत संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको पनि प्रचण्डले आरोप लगाएका छन् ।
‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’ प्रचण्डले वक्तव्यमा भनेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले समेत भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा आइतबार बोलाइएको परिषदको बैठक स्थगित गर्न प्रचण्डको आग्रह छ । ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ प्रचण्डले आफ्नो वक्तव्यमा भनेका छन् ।
शनिबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले समेत संवैधानिक परिषदको बैठकमा आफू सहभागी नहुने घोषणा गरेका छन् । देउवाले अरु सदस्यलाई पनि बैठकमा सहभागी नहुन आह्वान गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















