अन्तिम प्रयास गर्दा पनि प्रधानमन्त्री केपी ओली ‘नसच्चिएको’ निष्कर्षसहित एमालेको खनाल–नेपाल समूहका २२ सांसदले राजीनामा दिने निर्णय गरेका छन् । उनीहरू सामूहिक रूपमा संसद्बाट बाहिरिएमा ओलीले विश्वासको मत गुमाउने मात्र होइन, अल्पमतको सरकार बनाउने मौका पनि पाउने छैनन् ।
अब ओलीले पार्टीभित्रको विश्वास जोगाउन अन्तिम घडीमा नाटकीय निर्णय गर्नुपर्नेछ । नाटकीय निर्णयले एमाले सांसदको राजीनामा रोकिएमा पनि जसपाको पर्याप्त समर्थन नहुँदा बहुमत जुटाउन कठिन नै छ ।
ओली र सो समूहका नेताहरूसँग पटक–पटक भएका छलफल निष्कर्षमा नपुगेपछि शनिबार अपराह्नदेखि लगातार ६ घन्टा खनाल–नेपाल समूहका नेताहरूको बैठक बसेको थियो । राति ९ बजेसम्म बसेको बैठकको निष्कर्ष छ, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर पार्टी एकता तहसनहस पारेका ओलीलाई संसद्मा विश्वासको मत दिनु पार्टी र लोकतन्त्रका लागि घातक हुनेछ, त्यसैले ओलीलाई सत्ताच्युत गर्न संसद्बाट बाहिरिनु अनिवार्य भएको छ ।’
नेपाल समूहका करिब ३४ सांसद छन् । तर, समानुपातिक सांसदले राजीनामा दिएमा ओलीले तत्कालै नयाँ नियुक्त गर्न सक्छन् । त्यसैले प्रत्यक्ष निर्वाचितले मात्र राजीनामा दिने समझदारी भएको बैठकका सहभागीहरूले बताए ।
सोमबार संसद्मा विश्वासको मतमाथि छलफल हुँदै छ । त्यसैले एमालेका सबै सांसदलाई एकजुट बनाउन भेटघाट तीव्र भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ ०७५ मा फर्किन राखिएको सर्त ओलीले नमानेको असन्तुष्टहरूको दाबी छ ।
महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसालले शनिबार राति नयाँ पत्रिकासँग भने, ‘केपी ओलीलाई सच्याउन अधिक प्रयास भए । पटक–पटक वार्ता र छलफल पनि गर्यौँ । तर, उहाँ एकताका लागि इमानदार हुने र सच्चिने सम्भावना करिब–करिब नरहेको पायौँ ।’
सांसदहरूले राजीनामा दिने समझादारी भइसकेको भए पनि यससम्बन्धी अन्तिम निर्णय गर्न सो समूहले आइतबार स्थायी समिति बैठक बोलाएको छ । ‘शनिबार सांसदहरूको बीचमा वार्ता र ओलीसँग भएका सबै विषयमा छलफल भयो । त्यो सबै राखेपछि ओलीले पार्टी एकता जोगाउन नचाहेको निष्कर्ष सांसदहरूका बीचमा रह्यो । अन्तिम निर्णय आइतबार बस्ने स्थायी कमिटीले गर्नेछ,’ भुसालले भने ।
पार्टी एकता जोगाउन अन्तिम घडीमा हदैसम्मको प्रयास गर्ने र अन्यथा सामूहिक राजीनामा दिने निर्णय भएको सांसद झपट रावलले बताए । ‘पार्टी एकता जोगाउन अन्तिमसम्म र हदैसम्म प्रयत्न गर्ने, तर एकताका लागि ढोका बन्द गरेर भोटे ताल्चा लगाइए सामूहिक राजीनामा दिने निर्णय भएको छ, यसका लागि प्रत्यक्ष निर्वाचित २२ सांसदले शनिबार हस्ताक्षर गरेका छौँ,’ बैठकपछि रावलले भने । उनले राजीनामा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने विषयमा पनि छलफल भएको बताए ।
एमालेका २२ सांसदले राजीनामा दिएमा संसदीय अंकगणित पूरै उलटपुलट हुनेछ । सत्तारुढ दलका २२ सांसद कम भएमा प्रधानमन्त्रीले विश्वासको मत साबित गर्न असम्भव हुनेछ । त्यस्तै, ओलीको विकल्पमा नयाँ सरकार बन्ने बाटो पनि खुला हुनेछ ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















