धुलिखेल । काभ्रे जिल्लामा कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको पछिल्लो अवस्थाको बारेमा सङ्घीय सांसद र प्रदेश सांसदहरूले चासो लिएका छन् । आज आइतबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झासँग काभ्रेको पछिल्लो अवस्थाको बारेमा सङ्घीय सांसद गङ्गाबहादुर तामाङ, प्रदेश सांसदहरू लक्ष्मण लम्साल र रत्न ढकालले चासो व्यक्त गरेका थिए ।

सांसदहरूले प्रमुख जिल्ला अधिकारी पोखरेल र डा. झासँग जिल्लामा सङ्क्रमणको अवस्था र यसले निम्त्याएको संकटकोबारेमा चासो व्यक्त गरेका थिए । साथै सङ्कट व्यवस्थापनको लागि नीतिगत र व्यवहारिक हिसाबले आफूहरूबाट गर्नुपर्ने सहयोग कोबारेमा छलफल भएको थियो ।

जिल्लाको पछिल्लो अवस्थाको बारेमा पोखरेल र झाले सांसदहरूलाई जानकारी दिएका थिए । देशैभर सङ्क्रमण बढिरहेको बेला जिल्लामा पनि निक्कै बढिरहेको उनीहरूले बताए । स्थानीय सरकार सक्रिय नभएकोले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि कठिन भएको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा झाले जानकारी दिए । ‘होम आइसोलेसन र अस्पतालमा मृत्यु भएकाहरूको शव उठाउन समेत कठिन भएको छ ।’ झाले भने, ‘सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दिएको र आफूहरूको भूमिका समन्वयात्मक भएकोले निर्देशन दिन नसक्ने अवस्थामा हामी छौँ ।’

जिल्लाको अवस्थाको बारेमा बुझेपछि सङ्घीय सांसद तामाङले नीतिगत र व्यवहारिक रूपमा स्थानीय सरकारसँग परामर्श र छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने बताए । जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नभएकोले जनताको स्वास्थ्यमा नै सबै ध्यान केन्द्रित गर्न आफूहरूले पहल गर्ने तामाङले विश्वास दिलाए ।

जिल्लामा मृत्यु हुने सङ्ख्या दर्जन नाघेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या ११ सयको हाराहारीमा पुगेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।