नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सचिवालय सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन खोज्नु लज्जास्पद विषय भएको बताएका छन् । सोमबार विश्वासको मत लिने कार्यक्रम रहेको ओलीलाई आफैले हत्या गरेको संसद्को विश्वास लिन लागेको भन्दै यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दोङले सबै परिवर्तनकारीहरू मिलेर ओलीलाई बिदा गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
‘एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । आफैँले हत्या गरेको संसद्मा गएर नैतिकता पचाउँदै ओलीले विश्वासको मत लिन खोज्नु नै लज्जास्पद विषय हो ।’ उनले भनेका छन्, ‘जे भए पनि एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिएकोदेखि जुनसुकै हदसम्मको प्रतिगमनमा जान सक्ने ओली चरित्रलाई परास्त गर्नु नै आजको मूल कार्यभार हो । तसर्थ, नेपालका सबै परिवर्तनकारी दलहरू मिलेर ओलीले लिने विश्वास मतको विपक्षमा मतदान गर्नुपर्छ र ओलीलाई अब बिदा गर्न ढिलाइ गर्नुहुँदैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















