नेकपा एमालेका नेता तथा बागमती प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।
दोलखाको वैतेश्वर गाउँपालिकामा घर भएका चौलागाईं कोरोना संक्रमण भएपछि केही दिनदेखि काठमाडौं स्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा ९ख० बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
चौलागाईंको निधन भएपछि सिंगो दोलखा यतिबेला शोकमा डुबेको छ । उनलाई दोलखाली राजनीतिमा कांग्रेसका स्वर्गीय नेता भीम बहादुर तामाङ पछिको दोस्रो राजनीतिक अभिभावकका रुपमा सबै दलका नेता तथा कार्यकर्ताले उत्तिकै सम्मान गर्ने गरेका थिए ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदमा निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत भैसकेको नेकपा एमाले दोलखाका नेता प्रोणप्रताप केसीले जानकारी दिए।
काठमाडौं स्थित पेप्सिकोलामा रहेको आफ्नै निवासमा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा रहेको परिवार श्रोतले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















