चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका युवाहरुले ‘एन्टी कोभिड भोलेन्टीयर टीम’ निर्माण गरेको छ । गाउँपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय युवा अञ्जीत गौतम र अन्य युवाहरुको सक्रियतामा यो टीम निर्माण गरेको हो ।
गाऊँ गाऊँमा कोरोना संक्रमितहरू बढेको अवस्थामा यो टिमले गाऊँपालिकाको प्रत्यक्ष मातहतमा रही आफ्नो गतिविधि गर्ने स्थानीय युव गौतमले जानकारी दिए ।
जनताको स्वास्थ्यलाई मध्यनजर गरेर युवाहरुले गाउँपालिकाको कोभिड-१९ संक्रमण रोकथाम, उपचारको अभियानलाई आफूहरुले सहयोग गर्न लागेको गौतमले बताए । ‘शंकास्पद वा संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रही काम गर्नु परेमा उच्च सतर्कताका साथ नेतृत्व गर्दै स्वास्थ्यकर्मीहरूलाई सघाउने छौं । साथै गाउँमा आइसोलेसनमा बस्न प्रचार प्रसार, सामाजिक चेतना र युवा परिचालन गर्ने छौं ।’
उनका अनुसार एम्बुलेन्स चालकको वैकल्पिक व्यवस्था गर्न, अस्पतालमा गैर चिकित्सकिय सहयोगी व्यक्तिहरूको व्यवस्था गर्न, स्वाब संकलन र ल्याबसम्म लैजान आवश्यक सहयोग गर्न निषेधाज्ञामा सुरक्षाकर्मीलाई सहयोग गर्न आफूहरुले यो टिम निर्माण गरेको उनले बताए ।
‘केही गरी कोरोना संक्रमितको मृत्यु भईहालेमा घर जोखिम न्यूनिकरणका लागि सावधानीपूर्वक दाहसंस्कार गर्न सहयोग गर्ने छौं ।’ गौतमले भने, ‘कोरोना संक्रमित बिरामीको ओसार पसार र हेरचाह गर्न स्वास्थ्यकर्मी र परिवारलाई आवश्यक सहयोग पनि यो टिमले गर्ने छौं ।’
यो टिम गाउँपालिकाको ९ वटै वडामा गठन गरि परिचालन गर्न लागेको बताउँदै गौतमले वडा नं. ५ बाट यो कार्य शुरु भएको जानकारी समेत दिए । सबै भोलेन्टीयर निःशुल्क सेवामा लाग्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















