अनौपचारिक हिसाबले सबै अस्पतालमा ७० वर्षमाथिका कोरोना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार नगर्ने निर्णय भएको छ । गंगालालको पनि आन्तरिक बैठकमा त्यहि सहमति भएको बताइन्छ । गत वर्ष इटालीमा यहि पध्दति अपनाइएको थियो ।

यता मुलुककै ठूलो अस्पताल वीरको पाँच सय शैयाको नयाँ कोभिड वार्डमा आज बिहानबाट अक्सिजनको पाइप लाइन बिग्रेको छ । अधिकांश आईसीयु बिरामीका आफन्तलाई समेत अक्सिजन सिलिण्डरको जोहो गर्न भनिएको छ । अक्सिजनको अभावमा त्यहाँ पनि बिरामीका आफन्त चिन्तित बनेका छन् ।

उता मुटु रोगको उपचार गर्ने गंगालालमा ४० जना गम्भिर प्रकृतिका बिरामीले आईसीयुको पालो कुरी बसेका छन् । अक्सिजन अभावको कारण सर्वत्र हाहाकार मच्चिएको छ । काठमाडौंका ठूला र सम्पन्न अस्पतालले समेत अक्सिजनको अभावमा कोरोना बिरामीको उपचारमा हात ठड्याइसकेका छन् ।

सरकारी अस्पताल स्रोतका अनुसार सरकारको गलत नीतिका कारण अहिले बिरामीको चाप अस्पतालमा परेको बताइन्छ । स्रोतका अनुसार सामान्य बिरामीलाई घर वा नजिकको स्थानीय स्वास्थ्य केन्द्रमा अक्सिजन लगाउने व्यवस्था नगरेपछि सबै बिरामी अस्पताल पुग्न बाध्य भएका हुन् ।

बजारमा रहेको अक्सिजन कन्सन्ट्रेटर सबै खरिद गरेर सरकारले सामान्य बिरामीलाई त्यसको पहुँच र सिकिस्तलाई ग्याँस सिलिण्डरको प्रबन्ध मिलाउनुपर्नेमा त्यसो नभएपछि परिस्थिति भयावह भएको स्रोतको दाबी छ।

केही समयअघि ४० हजार रुपैयाँमा पाइने अक्सिजन कन्सन्ट्रेटर अहिले कालोबजारीमा दुई लाख रुपैयाँसम्म लिन थालिएको छ । यसतर्फ सरकार मौन बसेको कारण पनि अक्सिजनको मागमा चाप परेको स्वास्थ्यविद्हरू बताउँछन् ।

उता पशुपति आर्यघाटको विद्युुतीय शव दाहगृहमा लाश जलाउने पालो २४ घण्टामा पनि नआएपछि हिजोदेखि मृतकको शवको लाइन देखिन थालेको छ । –जन आस्थाबाट साभार

Comments

comments