काठमाडौँ । माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निणर्यलाई सकारात्मक भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ओलीले सच्याएको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निणर्य फिर्ता लिएको थियो । उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए ।

स्थायी कमिटीको उक्त निणर्पछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । ’हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निणर्यबारे उनले भने, ’यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’

यसबीचमा भएका दोस्रो तहका नेताहरूबीचका छलफलको परिणाम चार नेतामाथिको निलम्बन फुकुवा भएको पनि भट्टराईको भनाइ छ । ’यसले पार्टी मिलाउनुपर्छ, एक हुनुपर्छ भन्ने यो बीचमा विभिन्न तहमा छलफल बैठकका बुझाइलाई सम्बोधन गरेको छ,’ उनले भने ।

एमालेको एकता कायम राख्नका लागि अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउनुपर्ने भट्टराईको भनाइ छ । ’यो कुरालाई पनि अध्यक्षले सम्बोधन गर्न तयार हुनुहुन्छ भन्ने आश गर्छु,’ उनले भने ।

Comments

comments