कोभिड–१९ को पहिलो भन्दा पनि अहिलेको दोस्रो लहरमा संक्रमित दर बढी रहेको अवस्थामा काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सबै मिलेर सामाना गर्न गाउँबासीमा अपिल गरेको छ । विहिबार अध्यक्ष तिमल्सिनाले एक अपिल जारी गर्दै पहिला भन्दा पनि बढी सचेत हुनु पर्ने आवश्यकता देखिएकोले नियमित रुपमा साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्ड पालन गर्न गाउँबासीमा अनुरोध समेत गरेका छन् ।

अपिलमा तिमल्सिनाले संक्रमितहरुको उपचार सकेसम्म गाउँपालिका मै गर्ने नसकेको अवस्थामा जिल्ला भित्र या बाहिर गर्न गाउँपालिकाले सहयोग गर्ने बताउँदै गाउँपालिका बाहिर विरामी लानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको जानकारी समेत दिए ।

अध्यक्ष तिमल्सिनाले जारी गरेको अपिलः

आदरणीय बेथानचोकवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा नमस्कार

कोभिड १९ को दोस्रो लहरले हामी सबैलाई प्रभावित पारेको छ । अदृश्य यो रोगसँग लड्दा लड्दै कतिले आफ्नो ज्यान गुमाउनु परेको छ । यस्तो दुःखद घडीमा हामी मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकमा रहनु भएको परिवारजनलाई धर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।

कोभिडको पहिलो भन्दा पनि अहिलेको दोस्रो लहरमा संक्रमित दर बढी रहेको बताइएकोले पनि हामी सबैले पहिला भन्दा पनि बढी सचेत हुनु पर्ने आवश्यकता देखिएको छ । नियमित रुपमा साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्ड पालन गर्न हुन सबैमा आग्रह गर्न चाहन्छौं ।

केहि दिन घरमै सुरक्षित रहन सबैमा फेरि पनि अपिल गर्न चाहन्छौं । अति आवश्यक काममा घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्दा आफू र त्यसले अरुलाई पनि संक्रमण हुनबाट जोगाउने सम्भावना रहन्छ । अहिले सम्म यसको औषधी पत्ता नलागेका कारण पनि यो संक्रमण कहिले र कस्तो अवस्था सम्म रहन्छ भन्ने आकंलन गर्न सकिएको छैन । यो अवस्थालाई ध्यानमा राख्दै हामीले जिम्मेवारीपूर्वक व्यवहार गर्नु नै संक्रमणबाट बच्ने उपाय हो ।

सके सम्म संक्रमणबाट जोगिने नै उत्तम विकल्प हो । त्यति हुँदा हुँदै पनि संक्रमण हुन सक्दछ । त्यस्तो अवस्था वा कोभिड १९ का लक्षणहरु देखिएमा गाँउपालिकाले स्वास्थ्य समितिमार्फत स्वाब संकलनको व्यवस्था गरेको गरिएको जानकारी गराउन चाहन्छौं । स्वाब परिक्षणबाट कोरोना पोजेटिभ देखिएको अवस्थामा उपचारका लागि अस्पताल लानुपरेमा पनि गाँउपालिकाको एम्बुलेसन सेवा निःशुल्क उपलब्ध गराउनेछ । अन्य रोगका विरामीलाई अस्पताल लैजानु परेको खण्डमा भने स्वास्थ्य समितिले तय गरेको शुल्क लाग्नेछ ।

गाँउ पालिकाले पनि वडा नं २ स्थित ढुंखर्क स्वास्थ चौकीमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । जहाँ डाक्टरसहितको टोलीको व्यवस्था गरिएको छ । २०७८ वैशाख ३० गते बिहीबार ५ सिलिण्डर अक्सिनको व्यवस्थापन गर्न सकिएको छ । यसै सन्दर्भमा गाँउपालिकाले थप अक्सिजन सिलिण्डर खरिद गर्ने प्रयास गर्दा पनि सम्भव भइरहेको छैन । यदि संस्थागत वा व्यक्तिगत पहलबाट सिलिण्डर खरिद गर्न सकिने अवस्था यहाँको जानकारीमा छ भने हामीलाई खबर गरिदिनु हुन पनि सबैमा अपिल गर्दछु । भविष्यमा कोभिड अस्पताललाई २५ बेड सम्म पुर्याउने योजना रहेको यहाँहरुमा जानकारी गराउन चाहन्छौं ।

गाँउपालिकामै रहेको अस्पतालमा उपचार सम्भव नभएको खण्डमा त्यस्ता विरामीलाई जिल्ला भित्रकै अस्पताल वा जिल्लाबाहिर पनि लैजानु पर्ने अवस्थामा एम्बलेसन सेवा निशुल्क उपलब्ध गराइनेछ ।

महामारीका समयमा अनेक खाले भ्रामक समाचारहरु फैलने सम्भावना रहन्छ । त्यसमा पनि हामी सचेत हुन आवश्यक छ । देशका अधिकांश जिल्लामा आइपरेको यो कठीन समयलाई हामी सबै मिलेर सामना गर्नुपर्ने हुन्छ । यस्तोमा आवश्यकता पर्दा सेवाका लागि तयार हुनु भएका यस पालिका भित्रका विभिन्न सरकारी, गैर सरकारी संघ, संस्था, समुदाय, राजनीतिक दल र व्यक्तिहरुलाई धन्यवाद दिन चाहन्छौं । गाँउपालिकाको साधान श्रोतबाट मात्रै सेवा दिन असमर्थ भएको अवस्थामा यहाँहरुको सहयोग अवश्य पनि आवश्यक पर्नेछ त्यो समयमा तपाईहरुसँग सम्पर्क गरिनेछ ।

संक्रमणलाई न्यूनिकरण गर्न स्वास्थयकर्मी, गाँउपालिका, वडाका जनप्रतिनिधि आफ्नो तर्फबाट सेवा दिनका हरसम्भव तयार रहेको पनि जानकारी गराउन चाहन्छौं । गाँउबासी कसैलाई पनि लक्षण देखिएमा वा स्वास्थ सम्बन्धि समस्या परेको खण्डमा हामी सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य समितिका पदाधिकारी, स्वास्थ्य संयोजक, स्वास्थलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी सबै मिलेर यो कठीन अवस्थाको सामना गर्नुपर्ने हुन्छ ।

धन्यवाद, नमस्कार

प्रेमबहादुर तिमल्सिना

अध्यक्ष  बेथानचोक गाँउपालिका

२०७८ वैशाख ३० गते,

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।