महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको ४ वटा वडा सिल गरिएको छ । सो वडाहरूमा कोभिड–१९ सङ्क्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरी कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै सिल गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बिहीबार एक सूचना जारी गर्दै वडा नं.२, ३, ४ र ८ लाई सिल गरिएको जनाएको छ ।
गाउँपालिका भित्र रहेका सबै खाले औषधि र भेटेरिनरी पसल बाहेक सबै खाले पसलहरू र होटलहरु पूर्ण रूपमा बन्द गर्न र जमघट हुने सबै खालका सामाजिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध भोजभतेर पार्टीका भेला सामूहिक खेल लगायतका सबै कार्य बन्द गर्ने सूचना मार्फत अनुरोध समेत गरेको छ ।
साथै काठमाडौँ लगायत बाहिरबाट आउने सबै व्यक्तिहरू अनिवार्य रूपमा होम आइसोलेसनमा बस्न पनि अनुरोध गरेको छ ।
होम आइसोलेसनमा रहेको कोभिड सङ्क्रमित र शङ्कास्पद बिरामीहरूलाई श्वास प्रश्वासमा समस्या भई गाह्रो भएमा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन विष्टले अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















