काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको बताएका छन्। शुक्रबार मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गरेका हुन्।

शुभकामनाको पूर्णपाठ

मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ। यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको हो । बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ।अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ। परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु। साथै, यस पर्वका अवसरमा सम्पूर्ण मुस्लिम जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

३१ बैशाख, २०७८
………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।