काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पनि पालिका भित्र कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ‘लकडाउन’ को घोषणा गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले एक सूचना जारी गर्दै ‘लकडाउन’को घोषणा गरेका हुन् ।
शुक्रवार बसेको गाउँपालिकाको निर्णयअनुसार अति आवश्यक सेवा बाहेक गाउँपालिका भित्रका सबै सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरिएट सहितको कोरोना भाइरसको सङ्क्रमण यस तेमाल गाउँपालिका भित्र बढ्दै गएको हुनाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि मिति २०७८।०१।३१ को गाउँपालिकाको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि यस गाउँपालिका र अन्तर्गतका कार्यालयहरूबाट तपशिलमा उल्लेखित अति आवश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नहुने भएकोले सम्बन्धित सरोकारवाला पक्षहरू सबैको जानकारीका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ ।’
के–के बन्द हुन्छ ? के–के खुल्छ ?
अत्यावश्यक सार्वजनिक सेवा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य पसलहरू २४ घण्टा खुल्ने छ भने अति आवश्यक खाद्यान्न पसल हरेक दिन बिहान ६:०० बजे देखी बिहान ८:०० बजे सम्म मात्र खुल्ने प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले जानकारी दिएका छन् ।
त्यसैगरी होटेल तथा रेस्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, कपडा पसल, टेलरिङ, शैक्षिक संस्था, स्टेशनरी, भोज भतेर, विवाह, व्रतबन्ध, पास्नी, घेवा इत्यादि पूर्ण रूपमा बन्द हुने कुइँकेलले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















