काभ्रे । राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई मतदान गर्न एमाले (ओली पक्ष) काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बागमती प्रदेश सभा सदस्य सांसद वसुन्धरा हुमागाईँलाई ‘व्हीप’ पत्र पठाएपछि सांसद हुमागाईँ आक्रोशित भएका छन् । शनिवार व्याञ्जुद्वारा हस्ताक्षरित दुई वटा पत्र आफ्नो म्यासेन्जरमा आएको खुलासा गर्दै पार्टी एकता विरोधी र निर्वाचन ऐन विपरीत पत्र पठाएको भन्दै आक्रोशित भएका हुन् ।
सांसद हुमागाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत व्हीप पत्रले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यसलाई पार्टी एकता विरोधी कदमको रूपमा टिप्पणी गरेका छन् ।
‘मलाई मेरो मेसेन्जर मार्फत २ निर्देशन मिति २०७८।२।१ गते अशोक ब्यान्जुंद्वारा हस्ताक्षर गरिएको पत्र प्राप्त भयो । उक्त पत्रले हुन लागेको पार्टी एकतालाई गम्भीर असर पर्नुको साथै यो पार्टी एकता विरोधी कदम हो भन्ने मेरो ठम्याइ छ ।’ हुमागाईँले लेखेका छन्, ‘म सदैव पद्धतिलाई मान्दै आएको नेकपा (एमाले) को सिपाही हुँ । पार्टी एकताको पक्षमा छु । पार्टी विधि विधानबाट चल्नु पर्छ र चल्छ । विधि विधान र पद्धति भन्दा बाहिर गएर चल्ने छुट कसैला हुँदैन भन्ने कुरा सम्बन्धित पक्षलाई अनुरोध गर्दै थप पत्रको सम्बन्धमा प्रस्ट पार्न चाहन्छु ।’
एकताको चाहनामा गम्भीर असर पुग्ने
राष्ट्रियसभा निर्वाचनसँग जोडेर ब्याञ्जुले दिएको निर्देशन आम कार्यकर्ता, समर्थक, शुभचिन्तक नेपाली जनमानसमा नेकपा एमालेको एकताको चाहनामा गम्भीर पुग्ने हुमागाईँले बताएका छन् ।
आफ्नो नाम उल्लेख गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटीको लेटर हेडमा २०७८।२।१ पत्रमा अध्यक्ष भनी हस्ताक्षर गरी पठाएको बताउँदै उनले उक्त पार्टी अहिले ऋषि कट्टेलको भएको प्रस्ट पार्न पारेका छन् ।
गोप्य मतदान भएकोले व्हीप लाग्दैन
सांसद हुमागाईँले संसदीय दलको नेताले मात्र निर्देशन दिन सक्ने बताउँदै गोप्य मतदान भएकोले कसैको व्हीप नलाग्ने प्रस्ट पारेका छन् । ‘सांसदहरूलाई व्हीप (निर्देशन) संसदीय दलको नेताले लगाउने प्रस्ट पार्न चाहन्छु । राष्ट्रियसभा निर्वाचन गोप्य मतदान हुने हुँदा गोप्य मतदानमा निर्देशन वा व्हीप लिखित दिनु भनेको प्रचलित निर्वाचन ऐन कानुन र आयोगद्वारा जारी निर्वाचन आचार संहिताको ठाडो उल्लङ्घन हो भन्ने प्रस्ट पार्न चाहन्छु ।’ उनले लेखेका छन्, ‘त्यस्तो कुनै निर्देशन लिनु परेमा वा दिएमा नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष कमरेड टोक बहादुर वाइबा आधिकारिक अध्यक्ष भएकोले उहाँले दिएको निर्देशन पालना गर्ने प्रस्ट पार्न चाहन्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















