कोभिड–१९ दोस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रेस संगठन नेपाल काभ्रेले स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ । शनिबार संगठनले पत्रकारहरुलाई उक्त सामाग्री सहयोग गरेको हो ।
विभिन्न सञ्चारमाध्यममा रहेर कोरोना प्रभावको वेलामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने संगठन सम्बद्ध पत्रकारहरुलाई सहयोग स्वरुप स्यानिटाईजर, मास्क, भिटामिन क्याप्सुल र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराले जानकारी दिए । ‘अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न संघ संस्थाको सहयोगमा संगठनले करिब ४० जना पत्रकारलाई सो सामग्री वितरण गरेका हौं ।’ उनले भने ‘त्यससंगै यस्तो निषेधाज्ञाका वेलामा गाउँबाट पत्रकारिता पेशाको लागि शहरमा आएर भाडामा बस्ने पत्रकारहरुलाई सहयोग स्वरुप खाद्यान्न समेत वितरण गरेका छौं ।’ संगठनले १३ जना पत्रकारहरुलाई खाद्यान्न वितरण गरेको बञ्जाराले जानकारी दिए ।
पत्रकारहरुलाई सहयोगको लागि ईस्क्रा कन्स्ट्रक्सन प्रा.लि.का प्रोपाईटर टिका बहादुर तामाङ, दीप लक्ष्मि एग्रीगेट एण्ड मिनिङ प्रा.लि, सहकारीकर्मी राजन अधिकारी, व्यवसायीहरु कृष्णहरी आचार्य, प्रेम चौलागाई, विकास खनालको सहयोगमा सो सामग्री वितरण गरेको संगठनले जनाएको छ । सहयोगको लागि पुण्यवती यातायात प्रा.लिका अध्यक्ष राजेश सुन्दर सैजुमार्फत भिटामिन क्याप्सुल र पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ईश्वर जंगमले केही प्याकेट मास्क उपलब्ध गराएका थिए ।
सामग्री व्यवस्थापको संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराको नेतृत्वमा संगठनका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासघ बागमती प्रदेश सदस्य पेमा लामा, खुल्लापोष्ट डटकमका सञ्चालक रामप्रसाद ढकालको सक्रियतामा काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















