काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ को एक सडकमा ठेकेदार र इन्जिनियरको मिलेमतोमा गुणस्तरहीन मेसिनरी वाल निर्माण भएको जनगुनासो रहेको छ । माम्ती हर्कपुर घ्याङडाँडा हुँदै घ्याङलेक गाउँपालिका जोड्ने उक्त सडक स्तरोन्नतिमा ठेकेदार दोलखका गोकर्ण राउत र गाउँपालिकाका प्राविधिक महेश सुनुवारको मिलेमतोमा यस्तो वाल निर्माण गरिएको बुझिएको छ ।

स्थानी बासीका अनुसार दुवै पक्षको मिलेमतोमा वाल लाउनै नपर्ने स्थानमा लाउने र नलाउनुपर्ने स्थानमा लाएको छ । ‘मेशिनरी वाल लगाउनुपर्ने बर्गेखोलामा थियो, तर लाउनै नपर्ने माम्ती हाइटारमा वाल लगाइरहेको छ ।’ स्थानीय फुर्साङ मोक्तानले भने, ‘लगाएको मेशिनरी वाल पनि गुणस्तरहीन मात्र होइन एक लात हान्दा जतिखेर पनि भत्किने खालको छ ।’

इन्जिनियरलाई स्थानीय मोक्तानले बारम्बार वालकोबारेमा जानकारी दिए पनि चुपचाप बसेको आरोप लगाएका छन् । ‘हामीले हरेक पट्क यो सडकको काम राम्रो गर्नु प¥यो भनेर इन्जिनियर र ठेकेदारलाई भन्यौँ तर सुनेनन् ।’ उनले भने, ‘बर्गेखोलामा धेरै जोखिम छ त्यहाँ लाउनुपर्ने वाल लगाउनै नपर्ने हाइटारमा लगाइरहेको छ ।’ उनले भने, ‘बर्गेखोलामा गाउँ नै अहिले पनि जोखिमै छ । म रोशी सरकारलाई एक पटक तत्काल अनुगमन गर्नु हुन अनुरोध गर्दछु ।’

यस अघि १२ नं. वडाका वडा अध्यक्ष राम मोक्तान, वडा सदस्य सुकमान तामाङ सहित स्थानीयहरू सडकको अनुगमन गर्न गएका थिए । अनुगमन स्थलबाटै वडा अध्यक्ष मोक्तानले प्राविधिक सुनुवारलाई राम्रोसँग निरीक्षण गर्न निर्देशन दिएका थिए । तर सुनुवारले वडा अध्यक्षको निर्देशन समेत नमानेको बताएका छन् । ‘यो कार्यमा ठेकदारको लापरबाही देखेको छु । म लगायत स्थानीयवासीले अनुगमन गरेका थियौँ ।’ मोक्तानले भने, ‘मैले प्राविधिकलाई निरीक्षणको लागि निर्देशन समेत दिएँ तर प्राविधिक नगएको रहेछ ।’ बाटो बिग्रेमा प्राविधिकको गल्ती हुने चेतावनी समेत वडा अध्यक्ष मोक्तानले दिएका थिए ।

यता प्राविधिक सुनुवारले भने काममा कुनै समस्या नभएको बताएका छन् । आफूहरू प्राविधिक भएको र कुन–कुन ठाउँमा वाल लाउनुपर्ने हो आफूहरूलाई थाहा भएकोले सोही अनुसार वा लगाइरहेको बताए । ‘प्राविधिक हामी हौँ नि त, कहाँ कहाँ वाल लाउनुपर्ने हो त्यही त्यही लगाएको छ । मेशिनरी वालमा कुनै समस्या छैन ।’ उनले भने, ‘यो सडकमा दुई जना ठेकदारले काम गरिरहेको छ । बर्खे खोलामा अर्कै ठेकेदारले गर्नुपर्ने हो । त्यहाँ पनि अब काम चाँडै सुरु हुन्छ ।’

सो सडकमा साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट एक करोड रुपैयाँ र गाउँपालिकाको १ करोड रुपैयाँ गरी २ करोड रुपैयाँ बजेट रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।