काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो ।
कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएको नेता नेपालले जानकारी दिए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताए। दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएको हो ।
ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ ।
गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो । शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आइतबार त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















