बनेपा । काभ्रे सेवा समाजले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कोभिड–१९ राहत कोषमा सुरुवाती सहयोगका रुपमा आज १० हजार रुपैंया प्रदान गरेको छ । समाजका तर्फबाट सचिव राघवसिंह थापाले महासंघको बुडोलस्थित कार्यालयमा पुगेर सो रकम अध्यक्ष बद्रीराज तिमल्सिानालाई हस्तान्तरण गरेका हुन् ।
‘काभ्रे सेवा समाजले नागरिक समाजको प्रतिनिधित्व गर्ने र अहिलेको विषम परिस्थितिमा सुसूचित गर्ने कार्यमा खटिने पत्रकारहरुको सुरक्षाका लागि थोरै भए पनि सहयोग गरेका हौं । भविष्यमा थप सहयोगका लागि शुभेच्छुक र दाताहरुसँग समन्वय गरिरहेका छौं’, सचिव थापा भने ।
सो अवसरमा सहयोग रकम लिँदै अध्यक्ष तिमिल्सनाले पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे सेवा समाज मिलेर काभ्रे जिल्लामा धेरै काम गर्न सक्ने संभावनाहरु रहेको बताउँदै सहयोगका लागि शाखामा आवद्ध सम्पूर्ण पत्रकारहरुका तर्फबाट समाजलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
काभ्रे सेवा समाजले कार्यसमिति र शुभेच्छुक सदस्यहरुलाई समाजको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै कोभिड–१९ राहत कोष स्थापना गरेको र कोषमा रकम जम्मा गर्न सबैमा आह्वान गरेको छ । यही कोषमा जम्मा भएको रकमले महासंघलाई सहयोग गरिएको थापाको भनाई छ ।
समाजले पनौती–४ स्थित रियल नेपालको आश्रयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई पनि यसै कोषबाट सहयोग गरेको छ । सहयोगमा खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराइएको छ ।
यस अघि कोरोना संक्रमणको पहिलो लहरमा पनि समाजले पत्रकार महासंघ काभ्रे शाखालाई सहयोग गरेको थियो । त्यस बखत भेनस मास्क ५० थान र १०० मिलीको स्यानिटाइजर ५० बोतल उपलब्ध गराएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।