कोभिड–१९ को दोस्रो लहरले काभ्रेको बनेपामा सङ्क्रमित दर उच्च रहेको छ । सुरुदेखि नै अप्रत्याशित ढङ्गले बढी रहेको अवस्थामा बनेपा नगरपालिका भने ‘कानमा तेल’ हालेरै बस्यो । ‘जनताको स्वास्थ्य प्रति यो भन्दा ठुलो लापरबाही अरू के हुन सक्छ ?’ स्थानीय जनता चिन्तित भएर प्रश्न गरिरहेका छन् ।
बनेपा नगर प्रमुख लक्ष्मीनरसिं वादेले जनताको स्वास्थ्य प्रति कुनै पनि प्रकारको चिन्ता गरेनन् । पुरै बेवास्ता गरे । बरु यो बिचमा नगरप्रमुख वादेले तामझामका साथ हिजो आइतबार मात्र भोमी अस्पतालको उद्घाटन गरे । बनेपा नगरपालिका र भोमी अस्पताल बिच कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने सम्झौता भए बादेले उद्घाटन गरेका थिए ।
आज सोमबार मात्र बनेपामा ३६ महिला र २९ पुरुष गरी ६५ जना नयाँ सङ्क्रमित थपिए । आजसम्ममा बनेपामा सक्रिय सङ्क्रमित सङ्ख्या ६ सय ९७ पुगेको छ ।
प्रमुख वादेले बल्ला आज बनेपा नगरपालिकाले कोभिड–१९ सङ्क्रमण जोखिमका कारण भन्दै बनेपा नगरपालिका सिल गरेको सूचना निकालेका छन् ।
कोभिड–१९ दोस्रो लहर सङ्क्रमणका कारण बनेपा नगर क्षेत्र समेत अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको र यस विषम परिस्थितिमा भाइरस आक्रमणको शृङ्खला तोडी सङ्क्रमणलाई न्यूनीकरण गर्न सिल गर्नु परेको सूचनामा उल्लेख छ ।

त्यसको लागि पनि सरोकारवालाहरूको छलफल बैठकको सिफारिसलाई आधार मानेर आज राती १२ बजेदेखि आगामी ज्येष्ठ १२ गते राती १२ बजेसम्मको लागि सिल गरेको घोषणा गरेको छ ।
‘मिति २०७८ साल ज्येष्ठ ४ गते मङ्गलवार रातको १२:०० बजेदेखि २०७८ साल ज्येष्ठ १२ बुधवार रातको १२:०० बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ वादले निकालेको सूचना भनिएको छ ।
सिल गरेपछि सबैको लागि यस्तो छ नियम
क. औषधी पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र फलफूल पसल तथा व्यवसायहरू र बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवा समेत पूर्ण रूपमा बन्द गर्ने ।
ख. फोहोर मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय संस्थाले न्यूनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने ।
ग. सूचना विभागबाट जारी भएको प्रेस पास लिनुभएका पत्रकार बाहेक अन्य व्यक्तिहरूका हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरूलाई जानकारी गराएर बाहेक कोही पनि घर बाहिर ननिस्कने । बिहान बिहान गरिने भ्रमण (मर्निङ वाक) समेत नगर्ने ।
घ. अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















