भकुन्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा समुदाय स्तरमै कोभिड–१९ सङ्क्रमण हुन थालेको भन्दै नगरपालिका नै सिल गरेको छ । नगर प्रमुख टिपी शर्माले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको आजको निर्णयले नगरपालिकाको सम्पूर्ण क्षेत्र सिल गरिएको जनाएको छ ।

‘कोभिड–१९ सङ्क्रमण नमोबुद्ध नगरपालिका भित्र पनि तीव्र रूपमा समुदाय स्तरमा नै फैलिएको, सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको, नमोबुद्ध नगरपालिकाको क्षेत्रहरू सङ्क्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको यस विषम परिस्थितिमा कोरोना भाइरस सङ्क्रमणको शृङ्खला तोडी सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न चाल्नु पर्ने कदमका सम्बन्धमा नमोबुद्ध नगरपालिकाको मिति २०७४।०२।०४ गतेको निर्णय अनुसार मिति २०७८ साल जेठ ५ गते बुधवार रातीको १२:०० बजे देखि मिति २०७८ साल जेठ १२ गते बुधवार रातीको १२०० बजेसम्म नमोबुद्ध नगरपालिका सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको :ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ नगर प्रमुख शर्माले जारी गरेको सूचनामा भनिएको छ ।

सिल अवधिमा के–के छ नियम ?

१. मिति २०७८ साल जेठ ५ गते बुधवार रातिको १२:०० बजे देखि मिति २०७८ साल जेठ १२ गते बुधवार रातिको १२:०० बजेसम्म नमोबुद्ध नगरपालिका सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा सिल गर्ने ।

२. औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था, स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दूधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरू सिल गरिएको अवधि भर पूर्ण रूपमा बन्द गर्ने ।

३. बैङ्क, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरू सिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने ।

४. अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरू सिल गरिएको अवधिभर पूर्ण रूपमा बन्द गर्ने ।

५. निर्माण सामग्रीहरूको ढुवानी गर्ने सवारीसाधनहरू जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख भएको समय अनुसार गर्ने र निर्माण कार्यहरूको हकमा नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्ने ।

६. फोहोर मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवा दिने कार्यालय संस्थाले न्यूनतम कर्मचारी मार्फत नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्यका आधारभूत सुरक्षा मापदण्ड अपनाई तथा पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने।

७. सूचना विभागबाट जारी भएको प्रेस पास लिनु भएका सञ्चारकर्मी, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयका परिचय–पत्रबाट ब्यहोरा खुल्ने कर्मचारी बाहेक अन्य व्यक्तिहरूको हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरूलाई जानकारी गराएर बाहेक कोही पनि घर बाहिर ननिस्कने ।

८. अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।