काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा भएको कर्मचारी छनौटमा आफू फेल भएपछि एमाले कार्यकर्ता नीलकण्ठ गौतमले भ्रम छरेको पाइएको छ । अहेब पाँचौँ तहको कर्मचारी छनौट खुल्ला प्रतिस्पर्धाबाट छानिने क्रममा उनी फेल भएपछि गौतमले आफू एमाले भएकै कारण फेल गराएको अभिव्यक्ति दिँदै आएका छन् ।
उनको बचाउ नेकपा एमाले चौंरीदेउराली गाउँ कमिटीले गरेको छ । गाउँ कमिटीका संयोजक बाबुकृष्ण पन्तले वक्तव्य नै निकालेर विरोध समेत गरेका छन् । पहिला हस्तलिखित बक्तव्य निकालेका थिए भने पछि कम्प्युटर टाइप गरेर वक्तव्य निकालेका छन् ।
भ्रम छर्नुको पछाडि कारण यस्तो रहेछ
नीलकण्ठ गौतम चौंरीदेउराली गाउँपालिका वडा नं. ६ निवासी हुन् । उनले २०७६ साल चैत्रमा मादन कुँडारी स्वास्थ्य चौकीमा नियुक्ति पाएका थिए । खुल्ला प्रतिस्पर्धाबाटै नियुक्ति पाएका उनी करिब १ वर्ष पनि टिकेनन् । स्वास्थ्य जस्तो संवेदनशील संस्थामा रहेर उनी स्वास्थ्य चौकीमा उनको उपस्थिति अनियमित रहेको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङले बताए ।
उनलाई स्वास्थ्य चौकी व्यवस्थापन समितिले बारम्बार सचेत गराउँदा पनि व्यवहार नसच्चिएको प्रमुख घिसिङको आरोप छ । ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील संस्था प्रति उहाँ पुरै गैर जिम्मेवारी बन्नु भयो । जनताको स्वास्थ्य माथि खेलबाड गर्नु त भएन नि । अहिले उहाँ भ्रम छर्दै हिँडेको पाइएको छ ।’ घिसिङले भने, ‘स्वास्थ्य चौकी व्यवस्थापन समितिले उनी नियमित अफिस नआएको, सेवा प्रति जिम्मेवार नभएको भनेर गाउँपालिकामा चिठी लेखेको थियो ।’
कुनै महिना त उनी १५।१६ दिन नै गायब हुन्थ्यो । स्वास्थ्य व्यवस्थापन समितिको पत्र गाउँपालिकामा आएपछि गौतमलाई गाउँपालिकाले स्पष्टीकरण समेत सोधेको थियो । तर स्पष्टीकरण दिनुको सट्टा उनले गत २०७७ फागुन महिना तिर राजीनामा दिएका थिए ।
गौतमले राजीनामा दिएपछि खाली रहेको पदमा आवेदन आव्हान गरेको थियो । आफैले राजीनामा दिएको पदमा गौतमले पनि फेरि आवेदन भरेको स्वास्थ्य शाखा प्रमुख घिसिङले जानकारी दिए । ‘पहिला आफैले राजीनामा दिएर पद खाली गरिदिने, अनि सोही पदमा आवेदन आव्हान गर्दा ऊ आफूले पनि आवेदन भरेछ ।’ घिसिङले भने, ‘यस्तै भ्रम छर्ने योजनाका साथ उहाँ आउनुभएको रहेछ । अलिकति लाज त उहाँलाई लाग्नु पर्ने हो ।’
खाली दर बन्दीमा विज्ञापन भएपछि गौतम सहित ५ जनाले आवेदन दिएका थिए ।
पछिल्लो चरण गाउँपालिकामा कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि गाउँपालिका कार्यालयमा भौतिक रूपमा भन्दा पनि फोनबाटै अन्तरवार्ता लिने निर्णय अनुसार कार्य अगाडि बढाएको स्वास्थ्य शाखा घिसिङले बताए । ‘विषम परिस्थितिलाई मध्यनजर गरेर फोनबाटै अन्तरवार्ता लिने परीक्षा समितिले निर्णय गरे बमोजिम अन्तरवार्ता लिएको हो । उहाँ गाउँपालिकामै उपस्थित भएकोले गाउँपालिकामै अन्तरवार्ता लिएको हो ।’ घिसिङले भने, ‘खुल्ला प्रतिस्पर्धामा उहाँभन्दा अब्बल उम्मेदवार अर्को निस्केपछि र उहाँ कमजोर भए पछि उहाँ कसरी नियुक्ति हुन्छ त ?
कुनै दलको कार्यकर्तालाई आवेदन आव्हान नगरिएको भन्दै पार्टीको पहुँच देखाउन खोज्नु गलत भएको घिसिङले बताए । ‘गाउँपालिकामा स्वास्थ्यकर्मी आवश्यकता थियो । दरबन्दी खाली थियो । अहेब पदको लागि आवेदन आव्हान गरेको हौँ ।’ उनले भने, ‘कुनै दल विशेषका कार्यकर्तालाई आवेदन आव्हान गरेका होइनौँ । उहाँ नेकपा एमालेको कार्यकर्ता हुनुहुँदो रहेछ, हामीलाई एमाले कार्यकर्ता हाेईन, जिम्मेवार स्वास्थ्यकर्मी चाहिएको थियो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















