काभ्रे स्थित बेथानचोक गाउँपालिका वडा नं. १ फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण गरिँदा स्थानीयहरुको निकास बन्द हुन पुगेको छ ।

बेथानचोक गाउँपालिकाले सडक निर्माणका लागि ‘जन सहभागिता कार्यक्रम’ मार्फत १६ लाख ५ हजार रुपैयाँ विनियोजन गरि निर्माण शुरु भएको फुर्केथली छ्याङ्छ्याङ सिकारी भ्याञ्ज्याङ सडक निर्माण समिति गठन गर्दा समेत निर्देशिका बिपरित बेथानचोक गाउँपालिका वडा नं. २ ढुंखर्कमा केही व्यक्तिहरु जम्मा भइ पनौती नगरपालिका एवं खानीखोला गाउँपालिकामा स्थायी बसोबास गर्नेहरुको भेलाको निणर्य पुस्तिका तयार गरि ‘फूर्केथली छ्याङछ्याङ सिकारी भञ्ज्याङ खानीखोला’ नामाकरण गरी बेथान्चोक गाउँपालिकामा उपभोक्त्ता समिति दर्ता गरिएको खुलेको छ ।

उपभोक्ता समिति निर्माण गर्दा सो सडक बाटोबाट लाभान्वित हुने समुदायको भेला गराई निर्माण गरिनुको सट्टा गाउँपालिका तथा वडा कार्यालयको मिलेमतोमा सार्वजनिक सूचना समेत टाँस नगरी मनोमानी र पूर्वाग्रहि ढङ्गले अन्यत्रै उपभोक्ता समिति गठन गरिएको पाइएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं १ को अनुगमन गर्ने जिम्मा पाएका प्राबिधिक दिपक हुँमागाई, वडा नं १ का वडाध्यक्ष सोमनाथ घिमिरे तथा स्थानीयहरु समेतको बृहत भेला एवं छलफलमा स्थलगत निरीक्षण गरि तयार गरिएको सडक नक्साङ्कनलाई समेत एकातर्फी ढंगले मिचेर निर्माण गरिएको उक्त सडकले स्थानीय समुदायका तीन घरको निकास पूणर्रुपमा बन्द हुँदा आवात जावात एवं पानी पँधेरो समेत कठिन भएको छ ।

प्राविधिक अध्ययन एवं स्थानीयको सहमतिमा तयार पारिएको सडक नक्साङ्कन अनुसार सडक निर्माण नहुँदा गाउँपालिका वडा नं. १ को फूर्केथली, लामिडाँडा, झिंगे, सुकुमका १५० भन्दा बढी घरधुरीले प्रयोग गर्दै आएको खानेपानी समेत लथालिङ्ग हुँदा त्यस भेगका स्थानीयहरुले खानेपानीको समेत समस्या झेल्नु परेको छ ।

यसरी नक्साङ्कन बिपरित सडक निर्माण गर्दा परेको समस्या बारे गुनासो गर्दा हाल बजेट नभएको र समस्या समाधानका निम्ति बसेर सल्लाह गर्नु पर्ने बेथान्चोक प्रमुख प्रेमबहादुर तिमल्सिना बताउँछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।