काभ्रेको रोशी गाउँपालिका क्षेत्र पनि आज राती १२:०० बजेदेखि सिल गरिएको छ । रोशी गाउँपालिका क्षेत्र भित्र पनि कोभिड-१९ तीव्र रूपमा समुदाय स्तरमा फैलिएको र सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकोले सङ्क्रमणलाई नियन्त्रण तथा थप प्रभावकारी बनाउन सिल गरिएको अध्यक्ष डिबी लामाले जानकारी दिएको छ ।

आजै अध्यक्ष लामाले एक सूचना जारी गर्दै आफ्नो घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘गाउँपालिकावासीको स्वास्थ्यको सुरक्षा गर्न अत्यावश्यक देखिएकोले यस गाउँपालिकाका सम्पूर्ण क्षेत्रहरू मिति २०७८/०२/०७ गते राती १२०० बजे देखि २०७८/०२/१२ गते राती १२ट्ठ०० बजेसम्म पूर्णरुपमा शील गरिएको छ ।’ लामाले सूचनामा भनिएको छ, ‘यस शील अवधिमा गाउँपालिकाबासीलाई अत्यावश्यक काम बाहेक कोही पनि आफ्नो घर बाहिर ननिस्कन अनुरोध गरिन्छ । यो सूचनाको अवहेलना, उल्लङ्घन तथा बर्खिलाप हुने कार्य कहीँ कतैबाट भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

सिल अवधिमा अत्यावश्यक अस्पताल जन्य सेवा, औषधि पसल, तरकारी-फलफुल-खाद्यान्न पसल(यस अघि निर्धारित समय भित्र मात्र), प्रेस काउन्सिल तथा प्रमुख जिल्ला अधिकारीबाट जारी पास बाहेकको हिँडडुल कार्य, इन्टरनेट तथा विद्युत् मर्मत बाहेकको अन्य व्यवसाय तथा क्रियाकलाप स्थगन गरिएको समेत सूचनामा उल्लेख छ ।

‘साथै कोभिड-१९ सँग सम्बन्धित कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिकामा सम्पर्क गर्नहुन र यस विषम परिस्थितिलाई मनन गरी संक्रमण रोकथाम गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहुन समेत गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।’ सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।